काठमाडौं । छात्रालाई म्यासेन्जरमार्फत अश्लील मेसेज पठाएको आरोपमा पश्चिम नवलपरासीमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । सुस्ता गाउँपालिका वडा नं १ सिंगाहास्थित न्यू लाइफ इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलका प्रधानाध्यापक भरत न्यौपानेलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
न्यौपानेले रातिको समयमा छात्रालाई मेसेन्जरमा अश्लील किसिमका मेसेज पठाएर हैरान पार्ने गरेको भन्दै जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिए ।
पक्राउ परेका न्यौपानेलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको छ । उनलाई जिल्ला अदालतबाट म्याद थप गर्ने काम भइरहेको उनले बताए । पीडित छात्रा नाबालिग भएकाले प्रहरीले उनको परिचय गोप्य राखेको छ ।
सूचना अधिकारी थापाका अनुसार हालसम्म भौतिक रूपमा बालिकामाथि यौनहिंसा भएको विवरण भने प्राप्त भएको छैन । “अहिलेसम्म एक जना विद्यार्थीको मात्र जाहेरी परेको छ । हालसालैबाट अश्लील मेसेज पठाउन थालेको बुझिएको छ,” थापाले भने, “यस विषयमा हामी थप अनुसन्धान गरिरहेका छौँ ।”
प्रहरीले घटनाको प्रमाण जुटाउन प्रधानाध्यापक न्यौपानेको मोबाइललाई फरेन्सिक जाँचका लागि पठाउने तयारी गरेको उनले बताए । रिपोर्ट आएपछि घटनाबारे थप तथ्य खुल्ने उनले जानकारी दिए ।






