सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा किसानले सिँचाइका लागि खेतमा जडान गरेका विद्युतीय कृषि मोटर चोरीमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट चोरी गरिएका तीन थान कृषि मोटर बरामद गरेको छ ।
पक्राउ पर्नेमा चन्द्रनगर गाउँपालिका ६ कामदका २० वर्षीय शिवदयाल मुखिया र १९ वर्षीय सजिवन मुखिया रहेका छन् । प्रहरीका अनुसार साउन २६ गते चन्द्रनगर ४ स्थित पोखरिया चौरबाट एक थान तथा चन्द्रनगर ६ कामदबाट दुई थान कृषि मोटर चोरी भएका थिए ।
खेतमा सिँचाइका लागि जडान गरिएका मोटर चोरी भएपछि प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी तीव्र बनाएको थियो । खोजीका क्रममा शिवदयाल र सजिवनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनीहरूको साथबाट चोरी भएका तीनवटै मोटर बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध चोरीसम्बन्धी कसूरमा सर्लाही जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । उनीहरूमाथि इलाका प्रहरी कार्यालय केशरगञ्जले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
मधेश प्रदेशका विभिन्न जिल्लामा पछिल्लो समय कृषि मोटर तथा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएपछि किसानहरू समस्यामा परेका छन् । सिँचाइका लागि खेतमा जडान गरिएका मोटर चोरी हुन थालेपछि खेतीपाती प्रभावित हुनुका साथै किसानलाई आर्थिक क्षति समेत व्यहोर्नुपरेको छ ।






