महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प तथा ट्युबवेल (चापाकल) खरिद तथा वितरणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथली, तत्कालीन इन्जिनियर सन्तोषकुमार यादव, तत्कालीन सब–इन्जिनियर विपिनकुमार मण्डल, लेखापाल विजयकुमार यादव, तत्कालीन योजना शाखा प्रमुख गंगाराम यादव र तत्कालीन जिन्सी शाखा प्रमुख शिवशंकर यादवसहित ११ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार आर्थिक वर्ष २०७९/८० मा औरही नगरपालिकाले ह्याण्डपम्प तथा ट्युबवेल खरिद गर्दा सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत प्रक्रिया अपनाएको पाइएको छ ।
खरिद प्रक्रियामा प्रतिस्पर्धालाई जानाजान सीमित गरेको, आपूर्तिकर्तासँग मिलेमतो गरी बोलपत्रमार्फत खरिद गर्नुपर्ने सामग्री सिलबन्दी दरभाउपत्र तथा सोझै खरिद गरेको र त्यसबाट स्थानीय सरकार तथा नेपाल सरकारलाई हानिनोक्सानी पुर्याएको आरोप आयोगले लगाएको छ ।
त्यसैगरी, लागत अनुमान, खरिद आदेश, जिन्सी दाखिला तथा सार्वजनिक खरिद ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनसमेत बेवास्ता गरी खरिद कार्य गराएको तथा भुक्तानी दिएको–लिएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ । आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथलीविरुद्ध ३६ लाख १३ हजार रुपैयाँ बिगो कायम गरेको छ ।
यस्तै, तत्कालीन इन्जिनियर सन्तोषकुमार यादव र तत्कालीन सब–इन्जिनियर विपिनकुमार मण्डलविरुद्ध जनही २० लाख ४९ हजार ४५० रुपैयाँ तथा तत्कालीन लेखापाल विजयकुमार यादव र तत्कालीन योजना शाखा प्रमुख गंगाराम यादवविरुद्ध जनही ३६ लाख १३ हजार ३१ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
तत्कालीन जिन्सी शाखा प्रमुख शिवशंकर यादवविरुद्ध १५ लाख ६३ हजार ५८१ रुपैयाँ बिगो कायम गरिएको आयोगले जनाएको छ । आयोगले आपूर्तिकर्तातर्फ लिला आयरन स्टोर्स, औरही १ महोत्तरी र त्यसका प्रोप्राइटर विनयकुमार यादवविरुद्ध ५ लाख ३४ हजार ८७६ रुपैयाँ ८१ पैसा बिगो मागदाबी गरेको छ ।
त्यस्तै, डी.एम. जेनरल अर्डर सप्लायर्स, जलेश्वर ३, महोत्तरी र त्यसका प्रोप्राइटर दुधनाथ कुमरविरुद्ध ११ लाख ८९ हजार ४७१ रुपैयाँ ३६ पैसा, श्रीराम इन्टरप्राइजेज, जलेश्वर ३, महोत्तरी र त्यसका प्रोप्राइटर अमरनाथ कुमरविरुद्ध २ लाख २० हजार १९७ रुपैयाँ ३६ पैसा बिगो कायम गरिएको छ ।
जैसवाल निर्माण सेवा (सिर्जना ट्रेडर्स), औरही १ महोत्तरी र त्यसका प्रोप्राइटर रामबाबु चौधरीविरुद्ध ७ लाख ९ हजार ६२३ रुपैयाँ ९२ पैसा तथा क्वालिटी सोलुसन कम्पनी प्रालि., बागडोल ४, ललितपुर र त्यसका प्रबन्ध निर्देशक मनोजकुमार यादवविरुद्ध ७ लाख ११ हजार ९०० रुपैयाँ बिगो मागदाबी गरिएको आयोगले जनाएको छ ।
आयोगले प्रतिवादीहरूविरुद्ध बिगो असुलउपर, जरिवाना तथा कानुनबमोजिम सजायको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।






