रौतहट । रौतहटको मौलापुर नगरपालिका ढल निर्माणमा समेत नमुना बन्दै गएको छ। मधेस प्रदेशमा शिक्षा, स्वास्थ्य र यातायातलगायत क्षेत्रमा नमुना काम गर्दै आएको मौलापुरले पछिल्लो समय ढल व्यवस्थापनमा पनि उल्लेखनीय काम अघि बढाएको हो ।
शून्य करको नीति लिएको मौलापुर नगरपालिकाले नि:शुल्क पानी, नि:शुल्क बिजुली, छोरीको विवाहमा सहयोग, शिक्षा, स्वास्थ्य, यातायात तथा दलित बस्ती निर्माणलगायतका क्षेत्रमा नमुना काम गर्दै आएको छ ।
नगरपालिकाले गरेका यस्ता कामको अध्ययन तथा अवलोकन गर्न देशभरका विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी आउने गरेका छन् । नगरपालिकाका अनुसार पछिल्लो समय मौलापुरमा अध्ययन भ्रमणका लागि आउने स्थानीय तहको संख्या बढ्दै गएको छ ।
नगरपालिकाले गरेका विभिन्न विकास निर्माणका काम हेर्न र त्यसबाट सिक्न देशका विभिन्न स्थानबाट प्रतिनिधिहरू आउने गरेका हुन् । यसैबीच, मौलापुर नगरपालिकाले करोडौँ रुपैयाँको लागतमा नगर क्षेत्रका विभिन्न स्थानमा ढल निर्माणको काम अघि बढाएको छ ।
केही स्थानमा निर्माण सम्पन्न भइसकेको छ भने केही ठाउँमा निर्माण कार्य जारी छ । ढल व्यवस्थापनमा नगरपालिकाले अघि बढाएको कामले जिल्लामा समेत चर्चा पाएको छ । स्थानीय सुरेन्द्र कुशवाहाले मौलापुरमा जस्तो व्यवस्थित ढल निर्माणको काम अन्य स्थानीय तहमा आफूले नदेखेको बताए ।
उनका अनुसार मौलापुर नगरपालिकाले ढल निर्माण मात्र नभई अन्य क्षेत्रमा पनि नमुना काम गर्दै आएकाले टाढाटाढाबाट जनप्रतिनिधि यहाँ आउने, कामको अवलोकन गर्ने र सिकेका कुरा आफ्ना पालिकामा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउने गरेका छन् ।
“ढल निर्माणमा मात्रै नभई मौलापुर नगरपालिका अन्य विभिन्न क्षेत्रमा गर्दै आएको नमुना कार्यका कारण धेरै टाढाटाढाबाट जननिर्वाचित प्रतिनिधिहरू यहाँ हेर्न र सिक्न आउने गरेका छन्,” कुशवाहाले भने ।
यसैबीच, तीव्र गतिमा अघि बढिरहेको ढल निर्माण कार्यको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले निरीक्षण गरेकी छन् । मेयर साहले नगरपालिकाले अघि बढाएका अन्य विकास निर्माणका कामजस्तै ढल निर्माण पनि गुणस्तरीय र नमुनायोग्य रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै आएकी छन् ।
ढलको उचित व्यवस्थापन नहुँदा लामो समयदेखि समस्या भोग्दै आएका स्थानीयवासीले अब राहत पाउने नगरपालिकाको विश्वास छ । मौलापुर नगरपालिकाको ऐतिहासिक महादेव मन्दिर क्षेत्र आसपास पानी निकासका लागि ढल निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ ।
मेयर साहले उक्त निर्माण कार्यको समेत अनुगमन गरेकी छन् । मेयर साहले यो परियोजनाले पतौरा गाउँ तथा बजार क्षेत्रमा वर्षायाममा हुने डुबानको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने विश्वास व्यक्त गरिन् ।
“यो परियोजनाले पतौरा गाउँ र बजार क्षेत्रको डुबान समस्या सधैँका लागि समाधान गरी स्थानीय जनतालाई ठूलो राहत दिनेछ,” मेयर साहले भनिन् । तराई–मधेसका विभिन्न क्षेत्रमा ढल तथा उचित पानी निकासको अभावका कारण वर्षायाममा स्थानीयवासीले बर्सेनि समस्या भोग्दै आएका छन् ।






