बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका १ भक्तिनगरमा तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले १६ वर्षीय किशोरसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बालिकालाई चकलेटको प्रलोभन देखाएर सुनसान स्थानमा लगिएको र त्यहाँ जबर्जस्ती करणीपछि हत्या गरिएको खुलेको छ ।
मंगलबार साँझ करिब ५:४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठामा बालिका मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
सूचना प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी दिलीप क्षेत्रीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट एसपी नरेन्द्र कुँवरको कमाण्डमा थप प्रहरी टोली परिचालन गरी घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
घटनाको गम्भीरतालाई मध्यनजर गर्दै प्रदेश प्रहरी कार्यालय वीरगन्जबाट तालिम प्राप्त कुकुरसहितको टोली समेत परिचालन गरिएको थियो । अनुसन्धानका क्रममा मृतक बालिका जितपुरसिमरा उपमहानगरपालिका १ दसधुरी बस्ने मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी रहेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गरिमा साउन ३१ गते बिहान करिब ८:३० बजे घरबाट हराएकी थिइन् । त्यसपछि परिवार तथा स्थानीयले उनको खोजी गरिरहेका थिए । प्रहरीका अनुसार अनुसन्धानका क्रममा जितपुरसिमरा २ निवासी भीमसेन थापाका छोरा तथा ना १ ज ७७५८ नम्बरको म्याजिकका सहचालक करिब १६ वर्षीय सुमन थापाले बालिकालाई चकलेट दिने बहानामा फकाएर घटनास्थलमा लगेको खुलेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बालिकामाथि जबर्जस्ती करणी गरी हत्या गरिएको खुलेको जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुमन थापासँगै म्याजिकका धनी जितपुरसिमरा १ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई समेत पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्तिहरूको घटनामा संलग्नता र घटनाको वास्तविक कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । मृतक बालिकाको शव पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रियाका लागि पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।






