सिरहा । श्रीमतीमाथि अमानवीय ढंगले घरेलु हिंसा गरेको आरोपमा पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका ४ का ३३ वर्षीय रामशंकर यादवलाई जिल्ला अदालत सिरहाले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।
प्रहरीका अनुसार गत साउन ५ गते राति करिब १० बजे यादवले आफ्नै भाइ श्यामसुन्दर यादवको सहयोगमा श्रीमती सञ्जनामाथि घरभित्रै कुटपिट तथा गम्भीर यातना दिएको आरोप छ ।
आरोपअनुसार यादवले घरको झ्यालढोका बन्द गरेर खाना पकाउने चुलोमा फलामको रड तताई सञ्जनाको हातखुट्टा तथा शरीरका विभिन्न भागमा प्रहार गरेका थिए । उनलाई हातखुट्टा बाँधेर मुखमा कपडा कोचिएको समेत प्रहरीको भनाइ छ ।
घरभित्रबाट चर्को आवाज तथा झगडाको आवाज आएपछि छिमेकीहरूले घटनाबारे थाहा पाएका थिए । उनीहरूले घरको ढोका फोडेर सञ्जनाको उद्धार गरी प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उनलाई उपचारका लागि नवराजपुरस्थित सरकारी अस्पतालमा भर्ना गरिएको थियो ।
पीडित सञ्जनाका अनुसार श्रीमान्को मोबाइलमा आएको फोन उठाएर कुराकानी गरेको विषयलाई लिएर आफूलाई चरम यातना दिइएको थियो । उनले हातखुट्टाका नङ निकाल्न प्रयोग गर्ने उद्देश्यले दुईवटा पिलास समेत तयारी अवस्थामा राखिएको दाबी गरेकी छन् ।
समयमै छिमेकीहरू उद्धारका लागि नआएको भए ज्यान समेत जान सक्ने अवस्था रहेको उनको भनाइ थियो । घटनालगत्तै इलाका प्रहरी कार्यालय महेशपुर पतारीको टोलीले रामशंकर यादवलाई पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान पूरा गरी आवश्यक कानुनी कारबाहीका लागि उनलाई जिल्ला अदालत सिरहामा पेश गरेको थियो ।
अदालतले उपलब्ध प्रमाण तथा घटनाको प्रारम्भिक विवरणका आधारमा यादवलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भनिएका अन्य व्यक्तिमाथि समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






