सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा ट्याक्टरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । शुक्रबार बिहान मलङ्गवा नगरपालिका ८ स्थित नेपाल बैंक चोकमा ट्याक्टरको ठक्करबाट गोडैता नगरपालिका ५ की २३ वर्षीया गुरिया कुमारीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार पैदल हिँडिरहेकी गुरिया कुमारीलाई ज १ त ५२४६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो ।
तर अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए । दुर्घटनापछि प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गोडैता नगरपालिका ११ का १७ वर्षीय अजय साह रहेका छन् ।
प्रहरीका अनुसार ट्याक्टर चालक साहसँग सवारी चलाउने तथा ट्याक्टरसम्बन्धी आवश्यक कागजात समेत नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।






