कैलाली । कैलालीको गौरीगंगा नगरपालिका ४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बम दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बमले सेवाग्राहीलाई तोकिएबमोजिम थप सेवा, सुविधा तथा पारिश्रमिक उपलब्ध गराउने कामका लागि घुस रकम माग गरेका थिए ।
आयोगको टोलीले उनलाई दुई लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको जनाएको छ । बमविरुद्ध घुस/रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।
आयोगका अनुसार २०८३ भदौ ५ गते विशेष अदालतको आदेशबाट उनीमाथि म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।






