बारा । बाराको जीतपुरसिमरा क्षेत्रमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले अनुसन्धान तीव्र बनाएको जनाएको छ । घटनालाई लिएर विभिन्न स्थानमा प्रदर्शन भइरहेका बेला प्रहरीले बालिका हराएदेखि शव फेला परेको र आरोपित पक्राउ परेसम्मको अनुसन्धान विवरण सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार २०८३ साल भदौ ३१ गते बिहान करिब ८:३० बजे गरिमा हराएको भन्दै उनकी आमा मानमति चौधरी थारुले जिल्ला प्रहरी कार्यालय बारामा खोजतलासका लागि निवेदन दिएकी थिइन् । निवेदन प्राप्त भएलगत्तै प्रहरीले मातहतका कार्यालय तथा सम्बन्धित निकायमा बालिकाको हुलियासहित खोज तलासका लागि परिपत्र गरेको जनाएको छ ।
हराएलगत्तै व्यापक खोजतलास
बालिका हराएको जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली तत्काल परिचालन गरिएको थियो । टोलीले बालिकाकी आमासँग सोधपुछ गर्नुका साथै हुलासपछाडि, जगदम्बा पछाडि, सिमरा चोक, जीतपुर, विमानस्थल, रंगशाला आसपासको जंगल तथा औराहालगायतका सम्भावित क्षेत्रमा खोजी गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी पथलैया, दशधुरे र सिमरा चोकलगायतका क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको थियो । क्यूआरटी टोलीले पथलैया, दुधौरा बस्ती, जीतपुर र सिमरा चोक क्षेत्रमा भौतिक रूपमा खोजतलास गर्नुका साथै सम्बन्धित वडा कार्यालयमा रहेका सीसीटीभी फुटेजसमेत जाँच गरेको प्रहरीले जनाएको छ ।
भोलिपल्ट पनि खोजीलाई निरन्तरता दिँदै प्रहरीले औराहा, परवानीपुर तथा बालिका बसोबास गर्ने क्षेत्र आसपासका जंगलमा खोजतलास गरेको थियो। जीतपुर, नितनपुर र छातापिपरालगायतका स्थानमा समेत प्रहरी टोली परिचालन गरिएको थियो ।
सीसीटीभीदेखि प्राविधिक अनुसन्धानसम्म
प्रहरीका अनुसार भदौ २ गते मृतक बालिकाका बुबा, स्थानीय समाजसेवी तथा प्रहरीको संयुक्त टोलीले विभिन्न शंकास्पद स्थानमा खोजतलास गरेको थियो । सो क्रममा सीसीटीभी फुटेजको अध्ययन गर्नुका साथै प्राविधिक माध्यमबाट समेत अनुसन्धान अघि बढाइएको थियो ।
सोही दिन साँझ करिब ५:४५ बजे जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित वीरबहादुर रोकाको खाली घरबाट शंकास्पद गन्ध आएको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।
सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बाराका प्रमुखसहितको टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जबाट तालिमप्राप्त कुकुरसहितको टोली समेत परिचालन गरिएको प्रहरीले जनाएको छ ।
दुई जना पक्राउ, अनुसन्धान जारी
प्रहरीका अनुसार भदौ २ गते राति करिब १० बजे दुई जना शंकित व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो । प्रारम्भिक अनुसन्धानबाट जीतपुर २ का १६ वर्षीय सुमन थापाले बालिकालाई चकलेट दिएर फकाई घटनास्थलमा लगेको र त्यहाँ बलात्कारपछि हत्या गरेको खुलेको प्रहरीको दाबी छ ।
घटनामा संलग्न रहेको आशंकामा उक्त म्याजिकका चालक जीतपुरसिमरा १ का २४ वर्षीय प्रोगेश चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको जनाएको छ । दुवैविरुद्ध जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत बाराबाट भदौ ३ गते चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रहरीले घटनाको अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने र उपलब्ध सबै प्रविधि तथा अनुसन्धान विधिको प्रयोग गरिरहेको जनाएको छ ।
सरकारबाट पनि कडा कारबाहीको प्रतिबद्धता
यसैबीच, गृहमन्त्री सुधन गुरुङले बालिका गरिमा चौधरीमाथि भएको घटना प्रति दु:ख व्यक्त गर्दै दोषीमाथि कानुनअनुसार कडा कारबाही हुने बताएका छन् । जघन्य अपराध रोक्न बलियो कानुनी तथा संस्थागत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले घटनामा कानुनले उपलब्ध गराउने अधिकतम न्याय सुनिश्चित गर्न सरकार गम्भीर रहेको बताएका छन् ।






