सर्लाही । बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर सर्लाहीमा पनि विरोध प्रदर्शन चर्किएको छ । शनिबार बिहान लालबन्दी बजारमा भेला भएका स्थानीयले घटनामा संलग्नलाई कडा कारबाही र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन् ।
न्यायको माग गर्दै प्रदर्शनकारीले महेन्द्र राजमार्गअन्तर्गत लालबन्दी बजारमा दबाबमूलक र्याली निकालेका थिए । जनवादी चोकबाट सुरु भएको र्याली डुमडुमे मन्दिरसम्म पुगेको थियो ।
र्यालीमा विद्यार्थी, महिला, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका पदाधिकारी, अधिकारकर्मी तथा नागरिक अगुवासहित विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता थियो ।
प्रदर्शनकारीले ‘गरिमालाई न्याय देऊ’, ‘हामी न्याय चाहन्छौँ’, ‘बलात्कार बन्द गर’, ‘अपराधीलाई सजाय देऊ’, ‘हत्यारालाई कारबाही गर’ तथा ‘बालिकाको सुरक्षा सुनिश्चित गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
र्यालीपछि आयोजित कोणसभामा सहभागी वक्ताहरूले बालिकाको हत्या घटनामा संलग्नलाई कानुनअनुसार कडा कारबाही गर्नुपर्ने बताएका थिए । उनीहरूले बालबालिकामाथि हुने हिंसा र यौनजन्य अपराध रोक्न राज्यले प्रभावकारी सुरक्षा व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशसभा सदस्य बेची लुङ्गेलीले गरिमा चौधरीमाथि भएको जघन्य अपराधले देशभरका नागरिकलाई स्तब्ध बनाएको बताइन् । समाजमा बढ्दै गएको हिंसा र अपराध रोक्न परिवार, समाज तथा विद्यालय तहबाटै सचेतना अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।
हरिवनमा पनि प्रदर्शन
गरिमा चौधरी हत्या प्रकरणलाई लिएर सर्लाहीको हरिवनमा पनि प्रदर्शन भएको छ । शनिबार बिहान महेन्द्र राजमार्गअन्तर्गत हरिवन बजारमा स्थानीयले न्यायको माग गर्दै प्रदर्शन गरेका हुन् । यसअघि शुक्रबार साँझ महिला सञ्जालको अगुवाइमा हरिवनमा पूर्व-पश्चिम राजमार्गमा प्रदर्शन गरिएको थियो ।
यस्तै, गरिमाको सम्झनामा शुक्रबार साँझ सर्लाही सदरमुकाम मलङ्गवामा दीप प्रज्वलनसमेत गरिएको थियो । सहभागीले मृतक बालिकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गरेका थिए ।
गरिमा चौधरी हत्या प्रकरणपछि बारासहित पर्सा, रौतहट र सर्लाहीमा विरोध प्रदर्शन तथा दबाबमूलक कार्यक्रम भइरहेका छन् । प्रदर्शनकारीले पीडित परिवारलाई न्याय दिलाउन तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गर्दै आएका छन् ।






