वीरगञ्ज । लामो समयदेखि पानीको अभाव झेल्दै आएको गण्डक नहरमा यस वर्ष भने उत्साहजनक सुधार देखिएको छ । करिब डेढ दशकपछि नहरको पानी रौतहटस्थित १४ नम्बर ब्लक अर्थात् कुडवा क्षेत्रसम्म पुगेपछि पर्सा, बारा र रौतहटका किसानले राहत महसुस गरेका छन् ।
वर्षौंदेखि नहरको माथिल्लो क्षेत्रमा मात्र सीमित हुने पानी यसपटक अन्तिम क्षेत्रसम्म पुग्नु गण्डक सिँचाइ प्रणालीका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । नहरमा पर्याप्त पानी पुगेपछि यस वर्ष अधिकांश सिँचित क्षेत्रमा धान रोपाइँ समेत सम्पन्न भइसकेको छ ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका अनुसार यस वर्ष भारतले नेपाल-भारत गण्डक सम्झौताअनुसार ८५० क्युसेक पानी उपलब्ध गराएको छ । त्यसमाथि नहरको जलप्रवाहमा अवरोध गर्ने जलकुम्भी सफाइ र नहर मर्मतसम्भारमा भएको सुधारले पानीको प्रवाहलाई सहज बनाएको हो ।
सफाइ र पर्याप्त पानीले बदलियो अवस्था
नहरमा पानीको प्रवाह प्रभावकारी बनाउन बाराको गण्डक चोकदेखि करिब १२ किलोमिटर दक्षिणपूर्वसम्म जलकुम्भी सफा गरिएको छ । भारतीय पक्षले समेत आफ्नो क्षेत्रमा करिब १०० किलोमिटर नहर सफाइ गरेपछि यस वर्ष पानीको बहाव विगतको तुलनामा निकै राम्रो भएको प्राविधिकहरूले बताएका छन् ।
यसअघि पानीको मात्रा कम हुनुका साथै नहरमा जलकुम्भी र अन्य अवरोधका कारण पानी अन्तिम क्षेत्रसम्म पुग्न समस्या हुँदै आएको थियो । त्यसको प्रत्यक्ष असर रौतहटका किसानले भोग्दै आएका थिए । यस वर्ष भने पर्याप्त पानी र नहर सफाइ दुवै एकैसाथ भएपछि गण्डक नहरको पानी लामो दूरी पार गर्दै रौतहटको कुडवासम्म पुगेको हो ।
सम्झौताअनुसार पानी आएपछि किसानलाई राहत
गण्डक सम्झौताअनुसार धानबालीका लागि प्रत्येक वर्ष असार १५ देखि असोज १५ सम्म ८५० क्युसेक पानी उपलब्ध गराउने व्यवस्था छ । गहुँबालीका लागि भने पुस १० गतेदेखि आवश्यकताअनुसार पानी उपलब्ध गराउने प्रावधान छ ।
यस वर्ष सम्झौताअनुसार नै पानी उपलब्ध भएपछि पर्सा, बारा र रौतहटका अधिकांश सिँचित क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको सिँचाइ कार्यालयले जनाएको छ । हाल नहरको पानीका लागि किसानबाट विशेष माग समेत नआएको बताइएको छ । यसले वर्षायाममा आकाशे पानीमा निर्भर किसानलाई समेत केही हदसम्म राहत दिएको छ ।
भारतबाट आएपछि नेपालमा ८१ किलोमिटर यात्रा
गण्डक नहरको पानी नवलपरासीको भैंसालोटनस्थित नेपाल-भारत सीमामा रहेको गण्डक ब्यारेजबाट छोडिन्छ । भारततर्फ करिब ९२ किलोमिटर यात्रा गरेपछि नहर पर्साको जगरनाथपुर गाउँपालिकास्थित जानकीटोलबाट नेपाल प्रवेश गर्छ । नेपाल प्रवेश गरेपछि नहरले थप ८१ किलोमिटर दूरी तय गर्छ ।
पर्सा, बारा र रौतहटमा फैलिएको नहरलाई १५ वटा ब्लकमा विभाजन गरिएको छ । गण्डक सिँचाइ प्रणालीबाट पर्सा, बारा र रौतहटका करिब ३७ हजार ४०० हेक्टर कृषि जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ । तर नहरको अन्तिम क्षेत्रमा नियमित पानी नपुग्दा लामो समयदेखि लक्षित क्षेत्र पूर्ण रूपमा सिँचित हुन सकेको थिएन ।
पुरानो समस्या हट्ने आशा
गण्डक ब्यारेज भारतले निर्माण तथा सञ्चालन गर्दै आएको थियो । सन् १९७५ र १९७६ मा दुई चरणमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको यो सिँचाइ प्रणाली दशकौँदेखि तराईका किसानका लागि महत्वपूर्ण आधार बन्दै आएको छ ।
तर नहरको माथिल्लो र तल्लो क्षेत्रमा पानी वितरणमा देखिँदै आएको असमानता यसको पुरानो समस्या हो । विशेष गरी रौतहटको अन्तिम भागसम्म पर्याप्त पानी नपुग्दा किसानले नहर बने पनि यसको पूर्ण लाभ लिन सकेका थिएनन् ।
यस वर्ष डेढ दशकपछि १४ नम्बर ब्लकसम्म पानी पुग्नुले गण्डक सिँचाइ प्रणालीको पुरानो समस्या समाधानतर्फ आशा जगाएको छ । नहरको नियमित सफाइ, संरचनाको मर्मतसम्भार र सम्झौताअनुसार पानीको निरन्तर उपलब्धता कायम रहन सके गण्डक सिँचाइको वास्तविक लाभ अन्तिम क्षेत्रका किसानसम्म पनि पुग्ने अपेक्षा गरिएको छ ।






