बारा । बाराको कलैया उपमहानगरपालिका १ कट्टीपर्साकी दुई वर्षीया विन्दी मण्डल हराएको १२ घण्टापछि सकुशल फेला परेकी छन् । शनिबार साँझ ५:३० बजेतिर घरअगाडि खेलिरहेका बेला हराएकी विन्दीलाई आइतबार बिहान करिब ५ बजे कलैया २६ स्थित सिसवा महेशपुरमा स्थानीयले फेला पारेका हुन् ।
सडक किनारमा रोइरहेको अवस्थामा बालिकालाई देखेपछि स्थानीय सल्मा नेशाले प्रहरीलाई खबर गरेकी थिइन् । उनी घरबाट करिब एक किलोमिटर उत्तरतर्फ फेला परेकी थिइन् । स्वास्थ्य अवस्था सामान्य रहेकाले उनलाई परिवारको जिम्मा लगाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।






