सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका ३ मा तीन वर्षीया बालिका घर नजिकै मृत अवस्थामा फेला परेकी छन् । स्थानीय इरफानकी तीन वर्षीया छोरी सानिया खातुन आइतबार बिहान घरमै थिइन् ।
परिवारका अनुसार बिहान करिब ९ बजेसम्म उनलाई घरमा देखिएको थियो । त्यसपछि बालिका सम्पर्कविहीन भएपछि परिवार तथा स्थानीयले खोजी सुरु गरेका थिए । खोजीका क्रममा घरबाट करिब ६० मिटर पछाडि रहेको झाडीमा बालिकाको शव फेला परेको हो ।
घटनाको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी टोली घटनास्थल पुगेको छ । घटनास्थलको निरीक्षण तथा आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रूपक खड्काले जानकारी दिए ।
बालिकाको मृत्यु कसरी र कुन परिस्थितिमा भयो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
बालिका मृत फेला परेपछि घटनास्थलमा स्थानीयको बाक्लो भीड लागेको छ । प्रहरीले घटनासँग सम्बन्धित सबै पक्षमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






