पर्सा । पर्साको विन्दवासिनी गाउँपालिका २ स्थित ढोङ्गही खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ । भैँसी चराउन खोलातर्फ गएका बहुदरमाई नगरपालिका १ का करिब ६० वर्षीय ब्रह्मदेव राउत अहिरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भैँसी चराउन गएका राउत खोलामा बेपत्ता भएपछि स्थानीयले घटनाबारे सुरक्षा निकायलाई जानकारी गराएका थिए । सूचना पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खोजीमा परिचालन गरिएको थियो ।
सशस्त्र प्रहरी सुरक्षा बेस पोखरियाबाट प्रहरी नायब उपरीक्षक सञ्जय रेग्मीको नेतृत्वमा विपद् व्यवस्थापन टोली तथा इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा प्रहरी टोली खोजीमा खटिएको थियो ।
खोजी गर्ने क्रममा सशस्त्र प्रहरी टोलीले राउतलाई खोलाभित्र डुबेको अवस्थामा मृत फेला पारेको हो । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण पर्साका प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार शव फेला परेपछि आवश्यक मुचुल्का तयार गरी पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ ।
घटनाको कारण तथा मृत्युको वास्तविक अवस्थाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






