धनुषा । प्रहरीले धनुषाबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना र पर्साबाट गाँजाजस्तो देखिने पदार्थसहित एक वृद्धलाई पक्राउ गरेको छ । धनुषाको शहीदनगर नगरपालिका ३ बाट शुक्रबार साँझ खैरो हेरोइनजस्तो देखिने २२ ग्राम ५८० मिलिग्राम पदार्थसहित दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सबैला नगरपालिका १० मिसारपट्टीका १९ वर्षीय राजन यादव र हंसपुर नगरपालिका ९ का २६ वर्षीय बब्लु पासवान भनिने रामबालक पासवान रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैबीच, पर्साको पोखरिया नगरपालिका ५ सतबरियाबाट करिब ५०० ग्राम गाँजाजस्तो देखिने पदार्थसहित ६५ वर्षीय रामदयाल महरा पक्राउ परेका छन् ।पोखरिया नगरपालिका ५ सतबरियाका महरालाई इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
प्रहरीका अनुसार महराको घरमा खानतलासी गर्दा उक्त पदार्थ फेला परेको थियो । त्यसपछि उनलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।






