सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका ७ तीनघरियामा ४६ वर्षीय एक पुरुष सोमबार बिहान कल्भर्टमुनिको नालीमा मृत फेला परेका छन् । मृतक बरहथवा नगरपालिका ३ भगवतीपुरका राजेश्वर पुरी हुन् । उनी तीनघरियामै किराना पसल सञ्चालन गर्दै आएका थिए ।
इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार पुरीको शव सडक छेउमा रहेको कल्भर्टमुनिको नालीमा फेला परेको हो । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो ।
स्थानीयका अनुसार पुरी आइतबार राति गाउँमै आयोजना गरिएको भोजमा सहभागी भएका थिए । भोजबाट फर्किएपछि उनी बिहान मृत अवस्थामा भेटिएको परिवारले जनाएको छ ।
मृतकका ज्वाइँ सुवास गिरीले भने पुरीको मृत्यु स्वाभाविक नभएको र हत्या भएको आशंका गरेका छन् । उनका अनुसार पसलबाट उधारोमा सामान लगेका केही व्यक्तिहरूले पुरीलाई रातभर भोज खुवाएर हत्या गरेको हुन सक्ने आशंका छ ।
उनले घटनामा शङ्का लागेका व्यक्तिमाथि प्रहरीले तत्काल निगरानी र खोजतलास नगरेको गुनासो समेत गरेका छन् । परिवारले घटनाको निष्पक्ष अनुसन्धान गरी मृत्युको वास्तविक कारण पत्ता लगाउन माग गरेको छ ।
यता, प्रहरीले भने प्रारम्भिक रूपमा घटनास्थल र शवको अवस्था हेर्दा हत्या भएको देखिने आधार फेला नपरेको जनाएको छ । यद्यपि, मृत्युको कारण यकिन गर्न थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गोपीकृष्ण सुवेदीका अनुसार उनी स्वयं घटनास्थल पुगेर घटनाबारे प्रारम्भिक जानकारी लिएका छन् ।
प्रहरीका अनुसार पुरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मृत्युको वास्तविक कारण खुल्ने र त्यसका आधारमा अनुसन्धानलाई थप अघि बढाइने डीएसपी सुवेदीले बताए ।






