रौतहट । रौतहट बारासँग सिमाना जोडिएको भारतको बिहारस्थित पूर्वी चम्पारणको मोतिहारीमा नवजात शिशुको खरिद बिक्रीमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार महिला र एक पुरुष रहेका छन् ।
जिल्ला प्रहरी प्रमुख एसपी स्वर्ण प्रभातको निर्देशनमा नगर थाना क्षेत्रबाट प्राप्त गोप्य सूचनाका आधारमा अनुमण्डल प्रहरी पदाधिकारी सदरको नेतृत्वमा विशेष प्रहरी टोली परिचालन गरिएको थियो ।
प्रहरी टोलीले तत्काल कारबाही गर्दै मोतिहारी सदर अस्पताल चोकबाट नवजात शिशुको खरिद बिक्रीमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरूको साथबाट भारतीय रुपैयाँ १ लाख ५० हजार समेत बरामद भएको प्रहरीको भनाइ छ ।
पक्राउ पर्नेमा पूर्वी चम्पारणको हरसिद्धि थाना क्षेत्रका प्रमोद सहनी र उनकी श्रीमती इन्दु देवी, नगर थाना क्षेत्र बलुवा गोपालपुरकी तान्या खातुन उर्फ कुरैशा खातुन, घोडासहन थाना क्षेत्र बगहाकी शोभा सिंह र लैन बसवरियाकी चिन्ता देवी रहेका छन् ।
प्रहरीका अनुसार घटनामा नवजात शिशुको खरिद बिक्रीसम्बन्धी गतिविधि भएको आशंका गरिएको छ । पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
नवजात शिशुको खरिद बिक्रीमा अन्य व्यक्ति वा समूहको समेत संलग्नता रहे नरहेको विषयमा अनुसन्धान अघि बढाएको मोतीहारी प्रहरीले जनाएको छ ।






