जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ६ स्थित एक गेस्ट हाउसको कोठामा युवती मृत फेला परेकी छन् । नमस्कार चोक नजिक रहेको न्यू राजधानी गेस्ट हाउसको एक कोठामा युवती झुण्डिएको अवस्थामा मृत फेला परेको धनुषा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार मृत फेला परेकी युवतीको पहिचान खुलेको छैन । प्रारम्भिक जानकारीअनुसार उनी खोटाङको हलेसी निवासी हुन् ।
काठमाडौंमा बस्दै आएका उनका आफन्तलाई घटनाबारे जानकारी गराइसकिएको र आफन्त आएपछि थप विवरण खुल्ने डीएसपी खनालले बताए । डीएसपी खनालका अनुसार गेस्ट हाउसको कोठाको ढोका भित्रबाटै बन्द रहेको छ ।
‘कोठाको ढोका भित्रैबाट बन्द रहेकाले अहिले खोलिएको छैन । मृतकका आफन्त आएपछि ढोका खोलिनेछ । त्यसपछि घटनाबारे थप कुरा खुल्नेछ,’ उनले भने । गेस्ट हाउसको रेकर्डअनुसार ती युवती एक युवकसँग तीन चार दिनदेखि सोही कोठामा बस्दै आएकी थिइन् ।
प्रत्यक्षदर्शी तथा गेस्ट हाउसका कर्मचारीले दिएको पहिचानका आधारमा युवतीसँगै बस्दै आएका सिरहा निवासी एक युवकलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको डीएसपी खनालले बताए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।






