सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले उनकी कान्छी आमालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार शम्भुनाथ नगरपालिका २ कनकपट्टी टोल घर भई हाल शम्भुनाथ नगरपालिका ३ ट्राफिक बजारमा बस्दै आएकी २५ वर्षीया मुस्कान भनिने जास्मिन खातुनलाई पक्राउ गरिएको हो । उनी मो. इरफानकी कान्छी श्रीमती हुन् ।
जास्मिनमाथि दुई वर्षीया खुशी खातुनको हत्या गरी घरपछाडिको झाडीमा शव फालेको आरोप लागेको छ । घटना सार्वजनिक भएपछि प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको थियो ।
सप्तरी प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार प्रारम्भिक सोधपुछका क्रममा जास्मिनले बालिकाको हत्या गरेको स्वीकार गरेको बयानका आधारमा अनुसन्धान अघि बढाइएको छ ।
मृतककी आमा रुबिना खातुनले दिएको जाहेरीका आधारमा जास्मिनविरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए ।
पक्राउ परेकी जास्मिनलाई सप्तरी जिल्ला अदालतबाट भदौ ७ गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरिएको छ । म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटना भदौ ७ गते आइतबार बिहान भएको हो । घटनाकै दिन बालिकाको शव पोस्टमार्टम गरी उनकी आमाले अन्तिम संस्कारका लागि बुझेर लगेकी थिइन् ।






