सप्तरी । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि मधेश प्रदेशका विभिन्न जिल्लाका कम्तीमा १३ जना सम्पर्कविहीन भएको परिवारजनले बताएका छन् । सम्पर्कविहीनमध्ये अधिकांश जलविद्युत् आयोजना तथा सरकारी कार्यालयमा कार्यरत प्राविधिक र कर्मचारी छन् ।
परिवारजनका अनुसार बाढी आएपछि उनीहरूसँग फोन तथा अन्य माध्यमबाट सम्पर्क हुन सकेको छैन । सम्पर्कविहीन व्यक्तिहरूको अवस्थाबारे यकिन जानकारी नआएपछि परिवारले तत्काल खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
एउटै परिवारका तीन दाजुभाइ बेपत्ता
सप्तरीको बोदेबरसाइन नगरपालिका ८ काचनटोलका एउटै परिवारका तीन दाजुभाइ रसुवाबाट सम्पर्कविहीन भएका छन् । ३१ वर्षीय देवकुमार यादव, ३५ वर्षीय शिवकुमार यादव र २५ वर्षीय सचित यादव रसुवास्थित अपर त्रिशूली १ जलविद्युत् आयोजनामा कार्यरत थिए ।
उनीहरू क्रमश: इन्जिनियर, सुपरभाइजर र ओभरसियरका रूपमा कार्यरत रहेको बुवा लालबहादुर यादवले जानकारी दिए । बुधबार बिहान भोटेकोशी क्षेत्रमा बाढी आएपछि तीनै जनासँग सम्पर्क विच्छेद भएको परिवारले जनाएको छ ।
इन्जिनियरदेखि अध्यागमन कर्मचारीसम्म सम्पर्कविहीन
सप्तरीकै विष्णुपुर गाउँपालिका १ खुरहुरियाका इन्जिनियर अजयकुमार यादव पनि बुधबार बिहानदेखि सम्पर्कविहीन छन् । उनी उत्तरगया गाउँपालिका ५ स्थित नीकण्ठ माध्यमिक विद्यालय, बोगटीटारमा कार्यरत रहेको परिवारले जनाएको छ ।
विष्णुपुर गाउँपालिका १ का अपर त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियर ओमनारायण यादव र अपर त्रिशूली १ मा कार्यरत इन्जिनियर सन्तोष यादव पनि सम्पर्कविहीन रहेको बताइएको छ ।
राजविराज नगरपालिका २ का दीपककुमार देव, जो चिलिमे सबस्टेसनमा इन्जिनियरका रूपमा कार्यरत थिए, उनीसँग पनि बुधबार बिहानदेखि सम्पर्क हुन नसकेको उनका बुवा कृष्णकान्त देवले बताएका छन् ।
यसैगरी, कञ्चनरूप नगरपालिका रुपनगरकी दुर्गा पोखरेल रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयमा कार्यरत रहँदा बाढीपछि सम्पर्कविहीन भएको परिवारले जनाएको छ । राजविराज निवासी त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत अनिल मण्डल पनि सम्पर्कमा नरहेको उनकी श्रीमती पिंकी मण्डलले जानकारी दिए ।
धनुषा, महोत्तरी, सिरहा र बाराका परिवार पनि चिन्तित
धनुषाकी पूजा साहका श्रीमान् अजयप्रसाद सिंह अपर त्रिशूली १ जलविद्युत् आयोजनामा कार्यरत थिए । बाढीपछि उनीसँग सम्पर्क हुन नसकेको साहले बताएकी छन् । महोत्तरीको पिपरा गाउँपालिका निवासी इन्जिनियर विकास यादव पनि सम्पर्कविहीन रहेको उनका दाजु बरुण यादवले जानकारी दिए ।
सिरहाको कल्याणपुर निवासी रोशनकुमार साह अपर त्रिशूली १ जलविद्युत् आयोजनामा कार्यरत रहेको र बाढीपछि सम्पर्क हुन नसकेको परिवारले जनाएको छ ।
त्यस्तै, बाराको सुवर्ण गाउँपालिका ४ हरदियाका रमेशकुमार यादव पनि रसुवामा आएको बाढीपछि सम्पर्कविहीन भएका छन् । उनी अपर त्रिशूली आयोजनामा कार्यरत रहेको बताइएको छ ।
प्रहरी भन्छ- ‘माथिल्लो निकायमा जानकारी गराइसकिएको छ’
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी हेमराज घिमिरेका अनुसार रसुवाको बाढीपछि जिल्लाका ६ जना सम्पर्कविहीन भएको जानकारी परिवारजनबाट प्राप्त भएको छ ।
परिवारजनबाट प्राप्त विवरणका आधारमा उनीहरूको खोज तथा उद्धारका लागि माथिल्लो निकायमा जानकारी गराइसकिएको घिमिरेले बताए । बाढीपछि सम्पर्कविहीन भएकाहरूको वास्तविक अवस्था अझै स्पष्ट हुन नसकेको परिवारजनको भनाइ छ ।
उनीहरूले सम्बन्धित निकायलाई खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन आग्रह गरेका छन् । यसैबीच, सम्पर्कविहीन व्यक्तिहरूसँगै काम गर्ने वा घटनास्थल आसपास रहेका व्यक्तिलाई उनीहरूको अवस्था वा सुरक्षित स्थानबारे कुनै जानकारी भए तत्काल सम्बन्धित परिवारलाई खबर गरिदिन परिवारजनले अपिल गरेका छन् ।






