रौतहट । रसुवामा आएको बाढीपछि रौतहटका गौरव राउत सम्पर्कविहीन भएका छन् । वृन्दावन नगरपालिका २ धनगढी निवासी राउत रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली हाइड्रो इलेक्ट्रिक आयोजनामा कार्यरत थिए ।
परिवारका अनुसार बुधबार बिहान करिब ६ बजे गौरवले बुहारीसँग फोनमा कुराकानी गरेका थिए । त्यसपछि करिब १० बजेदेखि गौरवसँग सम्पर्क हुन सकेको छैन । गौरवका बुवा दिनदयाल राउतले छोरासँग सम्पर्क गर्ने प्रयास गर्दा मोबाइल स्विच अफ रहेको बताए ।
उनका अनुसार गौरव विगत करिब ६ वर्षदेखि अपर त्रिशूली आयोजनामा कार्यरत थिए । बाढीपछि सम्पर्क टुटेपछि उनको अवस्था र हालको स्थानबारे परिवारले कुनै जानकारी पाउन सकेको छैन । छोरासँग सम्पर्क हुन नसकेपछि परिवार चिन्तित बनेको दिनदयालले बताए ।
उनले आयोजनामा गौरवसँगै कार्यरत कर्मचारी तथा घटनास्थल आसपास रहेका व्यक्तिलाई उनीबारे कुनै जानकारी भए परिवारलाई खबर गरिदिन आग्रह गरेका छन् । गौरवको अवस्थाबारे जानकारी भए ९८४००७२३४५ मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ ।






