सिरहा । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सिरहाको लहान नगरपालिकाले ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले बाढीपीडितका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । सहयोग रकममा नगर प्रमुखको एक महिनाको सेवा सुविधा तथा नगरका जनप्रतिनिधि, कर्मचारी र शिक्षकको एक दिनको तलब समावेश गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट संकलन हुने रकम ११ लाख रुपैयाँभन्दा कम भए नगरपालिकाको आन्तरिक स्रोतबाट अपुग रकम थप गरिनेछ ।
संकलित रकम यसै हप्ताभित्र प्रधानमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा जम्मा गरिने निर्णय भएको छ ।
नगरपालिकाले विपद्को अवस्थामा प्रभावित नागरिकलाई राहत र उद्धार उपलब्ध गराउनु सबैको साझा दायित्व भएको जनाएको छ । स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा समेत नगरपालिकाले जोड दिएको छ ।
बुधबार चीनतर्फबाट आएको बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदीमा पानीको बहाव बढ्दा रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो क्षति पुगेको छ । बाढीले नदी किनारका बस्ती, सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएको छ ।






