जनकपुरधाम । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मधेश प्रदेशका विभिन्न जिल्लाका १२६ जना बेपत्ता भएका छन् । मधेश प्रदेश प्रहरी कार्यालयले शुक्रबार सार्वजनिक गरेको जिल्लागत विवरणअनुसार प्रदेशका आठवटै जिल्लाबाट १२६ जना बेपत्ता भएको जानकारी प्राप्त भएको हो ।
प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी सप्तरीका ३० जना बेपत्ता छन् । त्यसपछि पर्साका २८, बाराका १९, रौतहटका १५, सर्लाहीका १०, महोत्तरीका १०, सिरहाका ९ र धनुषाका ५ जना बेपत्ता भएका छन् ।
प्रहरीको विवरणअनुसार बेपत्ता हुनेहरूमा विभिन्न स्थानीय तहका नागरिक छन् । सप्तरीका बेपत्तामध्ये महादेवा, कञ्चनरूप, डाक्नेश्वरी, तिलाठी कोइलाडी, बोदेबरसाइन, राजगढलगायत स्थानीय तहका नागरिक रहेका छन् ।
त्यस्तै, पर्साका बेपत्तामा वीरगञ्ज महानगरपालिका, पोखरिया, बहुदरमाई, पटेर्वा सुगौलीलगायत क्षेत्रका नागरिक छन् । बाराका बेपत्तामा कलैया उपमहानगरपालिका, परवानीपुर, निजगढ, जितपुरसिमरा र सुवर्णलगायत क्षेत्रका नागरिक रहेका छन् ।
रौतहटका बेपत्ता हुनेहरूमा चन्द्रपुर, गौर, राजदेवी र ईशनाथलगायत स्थानीय तहका नागरिक छन् । सर्लाहीका बेपत्तामा लालबन्दी, ईश्वरपुर र हरिपुर क्षेत्रका नागरिक छन् भने महोत्तरीका बेपत्ता हुनेहरू गौशाला, जलेश्वरलगायत क्षेत्रका रहेका छन् ।
धनुषाका बेपत्तामध्ये हंसपुर र कमला नगरपालिका क्षेत्रका नागरिक छन् । त्यस्तै, सिरहाबाट मिर्चैया, गोलबजार र धनगढीमाईलगायत क्षेत्रका नागरिक बेपत्ता सूचीमा छन् ।
प्रहरीका अनुसार बेपत्ता हुनेमध्ये अधिकांश रोजगारी तथा कामको सिलसिलामा रसुवा पुगेका थिए । उनीहरूमध्ये अधिकांश अपर त्रिशूली जलविद्युत् आयोजना तथा अन्य हाइड्रोपावरमा कार्यरत इन्जिनियर, कामदार र उनीहरूका परिवारका सदस्य रहेको जनाइएको छ ।
बेपत्ता हुनेहरूको उमेरमा समेत ठूलो विविधता देखिएको छ । सप्तरीको खडक नगरपालिका ७ का ३ वर्षीय दिवस रामदेखि धनुषाको हंसपुर नगरपालिका क्षेत्रकी ७० वर्षीया ज्ञाती देवी यादवसम्म बेपत्ता सूचीमा छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख ओमप्रसाद अधिकारीले शुक्रबार दिउँसोसम्म फोन तथा विभिन्न सञ्चारमाध्यमबाट प्रदेशका आठवटै जिल्लाबाट १२६ जना बेपत्ता भएको नामावली संकलन गरिएको जानकारी दिए ।
नामावली संकलनको क्रम जारी रहेकाले बेपत्ता हुनेहरूको संख्या अझै बढ्न सक्ने उनले बताए । भोटेकोशी नदीमा आएको बाढीको प्रभाव रसुवाबाट तलतिर नुवाकोट, धादिङ, चितवनलगायत जिल्लासम्म परेको छ । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।






