रौतहट । आफूले खाजा खान ल्याएको पैसाबाट केही रकम छुट्याएर बाढीपीडितलाई सहयोग गरेका रौतहटका विद्यार्थी अहिले सामाजिक सञ्जालमा चर्चामा छन् । देवाही गोनाही नगरपालिका ७ स्थित माध्यमिक विद्यालय प्रेमपुर गोनाहीका शिक्षक र विद्यार्थीले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि स्वेच्छिक रूपमा राहत रकम संकलन गरेका हुन् ।
बाढीपछि विद्यालय खुलेको बिहीबार शिक्षकहरूबीच राहत सहयोग जुटाउने विषयमा छलफल भएको थियो । विद्यालयका प्रधानाध्यापक मुकेश कुमार यादवले विपत्तिमा परेका नेपालीलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको धारणा राखेपछि शिक्षकहरूले आफैंबाट सहयोग सुरु गरेका थिए ।
विद्यालयमा कार्यरत १९ शिक्षक रहेकामा १४ जनाले व्यक्तिगत रूपमा सहयोग रकम प्रदान गरे । उनीहरूले आफ्नो इच्छाअनुसार १ हजारदेखि २ हजार रुपैयाँसम्म राहतका लागि छुट्याएका थिए ।
शिक्षकहरूले विद्यार्थीलाई पनि बाढीबाट प्रभावित परिवारको अवस्थाबारे जानकारी गराउँदै आफूले सकेको सहयोग गर्न आग्रह गरे । त्यसपछि कक्षा ९ का विद्यार्थीले आफूले खाजा खान ल्याएको रकमबाटै सहयोग गर्ने निर्णय गरे ।
कक्षा ९ मा अध्ययनरत २६ विद्यार्थीले १०, २० र ५० रुपैयाँसम्म जम्मा गरे । यसरी संकलन भएको रकम ४७० रुपैयाँ पुगेको छ । त्यसैगरी कक्षा ११ का विद्यार्थीले पनि आफ्नो खाजा खर्चबाट रकम छुट्याएर ४०० रुपैयाँ राहत कोषमा जम्मा गरेका छन् ।
रकम संकलनको हिसाबसहितको विवरण सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएपछि विद्यार्थीहरूको अभियानले व्यापक चर्चा पाएको हो । पोस्टमा हजारौँ मानिसले प्रतिक्रिया जनाउँदै शिक्षक र विद्यार्थीको प्रयासको प्रशंसा गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक यादवका अनुसार विद्यार्थी तथा शिक्षकलाई राहत अभियानमा जोड्न निमावि शिक्षक निरञ्जन यादवको पनि महत्वपूर्ण भूमिका रहेको थियो ।
ठूलो रकम सहयोग गर्न नसके पनि आफ्नो दैनिक खाजा खर्चबाटै रकम छुट्याएर विपद्मा परेकालाई सहयोग गर्ने विद्यार्थीहरूको प्रयासलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले सकारात्मक उदाहरणका रूपमा लिएका छन् ।
विद्यार्थीहरूले दिएको रकम आर्थिक हिसाबले सानो भए पनि विपत्तिमा सहयोग गर्ने संस्कार र सामाजिक उत्तरदायित्वको सन्देश भने ठूलो रहेको विद्यालयको भनाइ छ ।




