रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका २ जुडीबेलास्थित एकीकृत कृषि फर्मको गोठमा आगलागी हुँदा ७ वटा चौपाया जलेर मरेका छन् । शनिबार बिहान भएको आगलागीबाट करिब ९ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।
सन्तोषी बस्नेतको आचार्य एकीकृत कृषि फर्मको गाई गोठमा बिहान करिब ५ बजे अचानक आगलागी भएको थियो । आगलागीको सूचना पाएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र अस्थायी प्रहरी पोस्ट जुडीबेलाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा बिहान ६:५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आगलागीमा परी ४ वटा गाई, २ वटा बाच्छा र १ वटा भैंसी जलेर मरेका छन् ।
त्यस्तै, २ वटा गाई र १ वटा खसीलाई घाइते अवस्थामा उद्धार गरिएको रौतहट प्रहरीका प्रवक्ता एवं डीएसपी बसन्त गौतमले जानकारी दिए । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार आगलागीबाट करिब ९ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




