वीरगन्ज । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, पुन:स्थापना तथा पुनरुत्थानका लागि वीरगन्ज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको अध्यक्षतामा शनिबार बसेको महानगरपालिकाको आकस्मिक कार्यपालिका बैठकले बाढीपीडितका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
उक्त रकम महानगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने जनाइएको छ । महानगरपालिकाका अनुसार सहयोग रकम जुटाउन प्रत्येक वडा कार्यालयले १ लाख २५ हजार रुपैयाँका दरले योगदान गर्नेछन् ।
त्यसैगरी, महानगरपालिकाका सबै जनप्रतिनिधिले एक महिनाको तलब तथा सेवा सुविधा बराबरको रकम बाढीपीडितका लागि उपलब्ध गराउने निर्णय भएको छ । महानगरपालिकामा कार्यरत कर्मचारीको तलबबाट पनि मुख्यसचिवस्तरीय निर्णयअनुसार तोकिएको रकम कट्टा गरी सहयोगमा जुटाइने भएको छ ।
भोटेकोशी क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति भएकाले विपद्को कठिन अवस्थामा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन आकस्मिक बैठकमार्फत सहयोगको निर्णय गरिएको कार्यवाहक नगर प्रमुख आलमले बताए ।
उनका अनुसार विपद्का बेला स्थानीय तहबीचको सहकार्य, मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै प्रभावित नागरिकको राहत तथा पुन:स्थापनामा महानगरपालिकाले आफ्नो तर्फबाट सहयोग गर्नेछ ।
महानगरपालिकाले बाढीपीडितको तत्कालीन आवश्यकता पूरा गर्न राहतसँगै दीर्घकालीन पुन:स्थापना र पुनरुत्थानका कार्यमा समेत सहयोग पुग्ने अपेक्षा गरेको जनाएको छ ।




