महोत्तरी । रातु खोलामा पानीको बहाव बढेर बाढी आउन सक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले नदी तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै महोत्तरी गाउँपालिका क्षेत्रतर्फबाट रातु खोलामा बाढी आउन सक्ने अवस्था देखिएको जनाएको हो । सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी आसपासका क्षेत्रमा सुरक्षा टोलीलाई समेत सतर्क अवस्थामा परिचालन गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनले नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजान आग्रह गरेको छ । साथै, सम्भावित बाढी तथा डुबानबाट जोगिन आवश्यक सावधानी अपनाउन र सुरक्षित स्थानमा रहन नागरिकलाई अपिल गरिएको छ ।
रातु खोलाको पानीको सतह तथा बहावको अवस्थाबारे सुरक्षा निकाय र सम्बन्धित निकायले निरन्तर निगरानी गरिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनले बाढीसम्बन्धी जोखिम बढेमा सम्बन्धित निकायबाट जारी हुने सूचना तथा निर्देशनको पालना गर्नसमेत नागरिकलाई आग्रह गरेको छ ।




