पर्सा । रसुवाको भोटेकोसीमा आएको बाढीपछि विभिन्न स्थानबाट सम्पर्कविहीन भएका पर्सा, बारा, सर्लाही र भारतका गरी ३९ जनाको विवरण जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक गरेको छ । रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा रसुवा पुगेका उनीहरू बाढीपछि आफन्तसँग सम्पर्कविहीन भएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको खोज तथा उद्धारसम्बन्धी सूचनामा सार्वजनिक गरिएको नामावलीमा पर्साका व्यक्तिसँगै बारा, सर्लाहीका केही व्यक्ति तथा भारतीय नागरिकको नामसमेत परेको छ । सूचीमा परेका केही व्यक्तिका आफन्त भने प्रशासनको सम्पर्कमा आइसकेका छन् ।
प्रशासनका अनुसार नामावलीमा परेका बाराका केही व्यक्ति र भारतीय नागरिकका आफन्तहरू पर्सा प्रशासनको सम्पर्कमा आएका छन् । उनीहरूको अवस्थाबारे सम्बन्धित निकायसँग समन्वय गरी थप विवरण संकलन तथा खोजी भइरहेको प्रशासनले जनाएको छ ।
सार्वजनिक नामावलीमा सफिकराज मियाँ, साहबुद्दिन मंसुरी, सतीश मियाँ, समिम मियाँ, राहुल मियाँ, उमेश प्रसाद, वीर किशोर कुमार, राम करण कुमार, विनय कुमार साह, संजय साह सोनार, सुजत मियाँ, सागर कुर्मी, सुनिल मान डाँगोल, रिजवान अंसारी, आरम्भ चौरसिया, अलोक चौरसिया, लक्की पटेल, आवाज हवारी र नरेश राय रहेका छन् ।
यस्तै नग नारायण पटेल, सुबोध पटेल, अरुण हजरा, श्यामबाबु ठाकुर, उकेश दोङ्गल, संजय तामाङ, आकाश तामाङ, कमरुल होदा अंसारी, सुभाष पटेल, ज्ञानबहादुर खत्री, श्यामलाल मोत्तन, सामिन देवान, अनुतमबहादुर श्रेष्ठ, अभिषेक बरसौला, धनश्याम बरसौला, दिनेश परियार, पृथ्वी चौधरी, ओमिर अंसारी र सरुन कुमार यादव पनि सम्पर्कविहिन भएका छन् ।
प्रशासनले सार्वजनिक गरेको विवरणमा ज्ञानबहादुर खत्री र श्यामलाल मोत्तन भने हाल सम्पर्कमा रहेको उल्लेख छ । सूचीमा रहेका अन्य व्यक्तिको अवस्थाबारे पनि सम्बन्धित निकायसँग समन्वय गरी जानकारी संकलन तथा खोजी कार्य भइरहेको जनाइएको छ ।
रसुवामा भोटेकोसीमा आएको बाढीका कारण विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको छ । बाढीपछि रोजगारी, व्यापार तथा अन्य कामका लागि रसुवा पुगेका पर्सा तथा आसपासका जिल्लाका नागरिक सम्पर्कविहीन भएपछि उनीहरूका आफन्तले प्रशासनसँग खोजीका लागि आग्रह गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय पर्साले सम्पर्कविहीन भनिएका व्यक्तिका आफन्तलाई नजिकको प्रहरी कार्यालय, वडा कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ ।
खोज तथा उद्धारसम्बन्धी आवश्यक जानकारीका लागि प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी कार्यालय पर्सामा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ । प्रशासनले सार्वजनिक गरेको नामावली प्रारम्भिक विवरण भएकाले सम्पर्कमा आएका तथा फेला परेका व्यक्तिको अवस्था अद्यावधिक गर्दै जाने जनाएको छ ।




