वीरगन्ज । पर्साको पोखरिया–रानीगञ्ज रहरियाका सोना लाल पण्डितको बाढीमा बेपत्ता भएको केही दिन बितिसक्दा पनि शव फेला पर्न सकेको छैन । शव नभेटिएपछि परिवारजनले कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरेका छन् ।
बाढी आएको समयमा पण्डितसँगै रहेका भान्जाका अनुसार पानी बढ्दै गएपछि उनले पण्डितलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेका थिए । तर पण्डितले आफूलाई केही नहुने भन्दै त्यहीँ बसेका थिए ।
पानी कोठासम्म पुगेपछि भने उनले भान्जासहित अन्यलाई भाग्न आग्रह गर्दै आफू कोठाभित्र जाने बताएका थिए । त्यसपछि भान्जा घुँडासम्म आएको पानीमा हिँड्दै ज्यान जोगाएर बाहिर निस्किएका थिए ।
उनी बाहिरिएलगत्तै दुई तले भवन समेत बाढीमा डुबेको बताइएको छ । त्यसयता सोना लाल पण्डितको अवस्था अज्ञात छ । उनको शव समेत अहिलेसम्म फेला पर्न सकेको छैन । पण्डित एक खुट्टाबाट अपांगता भएका व्यक्ति हुन् । उनका पाँच छोरी छन् ।
छोरीको विवाहका लागि आवश्यक खर्च जुटाउन उनी त्रिशूली क्षेत्रमा सेन्ट्रीको काम गर्दै आएका थिए । परिवारले पण्डितको शव खोजी गरी अन्तिम संस्कार गर्न सहयोग गरिदिन प्रहरी प्रशासन, सेना तथा सरकारसँग आग्रह गरेको छ ।




