सर्लाही । सर्लाहीको बलरा नगरपालिका ४ स्थित श्रीराम सखिमोहित सिंह जनता उच्च माध्यमिक विद्यालयमा प्रधानाध्यापकसहित शिक्षक तथा अन्य व्यक्तिमाथि कुटपिट भएको छ ।
सोमबार दिउँसो विद्यालयमा सरसफाइको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो । विवादका क्रममा प्रधानाध्यापक वीरेन्द्र झाले एक छात्रामाथि अमर्यादित तथा अश्लील गालीगलौज गरेको आरोपपछि विद्यार्थीहरू आक्रोशित बनेका थिए । त्यसपछि विद्यार्थीहरूले प्रधानाध्यापक झामाथि आक्रमण गरी कुटपिट गरेको बताइएको छ ।
घटनाका क्रममा विद्यालयमा कार्यरत शिक्षक शिक्षिका तथा प्रधानाध्यापकका आफन्तमाथि समेत विद्यार्थी र बाह्य व्यक्तिहरूको समूहले कुटपिट गरेको आरोप छ । घटनालाई नियन्त्रणमा लिन पुगेका प्रहरीमाथि समेत कुटपिट भएको बताइएको छ ।
छात्रामाथि प्रधानाध्यापकबाट वास्तवमै अमर्यादित व्यवहार भएको भए त्यसको निष्पक्ष छानबिन गरी दोषी देखिए कानुनअनुसार कारबाही गर्नुपर्ने स्थानीयको माग छ । तर, घटनाको वास्तविकता पुष्टि नहुँदै भीड जम्मा गरेर शिक्षक तथा अन्य व्यक्तिमाथि कुटपिट गर्नु पनि कानुनसम्मत नभएको उनीहरूको भनाइ छ ।
एक स्थानीय प्रत्यक्षदर्शीले भने, ‘कुनै व्यक्तिलाई दोषी ठहर गर्ने अधिकार भीडलाई होइन, कानुनी निकायलाई हुन्छ । त्यसैले घटनाको वास्तविकता पत्ता लगाउन निष्पक्ष र पारदर्शी छानबिन आवश्यक छ ।’
घटनामा राजनीतिक प्रभाव वा अन्य कुनै कारण जोडिएको हो कि भन्ने प्रश्नसमेत उठेको छ । त्यसैले घटनासँग सम्बन्धित सबै पक्षको गहन छानबिन गरी वास्तविकता बाहिर ल्याउनुपर्ने स्थानीयको माग छ ।
विद्यालयलाई शिक्षा, अनुशासन र मर्यादा सिकाउने थलोका रूपमा लिइन्छ । शिक्षकले विद्यार्थीप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने भएजस्तै विद्यार्थीले पनि शिक्षक तथा विद्यालयको मर्यादा कायम राख्नुपर्ने स्थानीयको भनाइ छ ।
छानबिन टोली गठन गरिने
बलरा नगरपालिकाका नगरप्रमुख रमाशंकर कुशवाहाले सामाजिक सञ्जालमार्फत घटनाको वास्तविकता पत्ता लगाउन नगर शिक्षा समितिको नेतृत्वमा छानबिन टोली गठन गर्ने बताएका छन् । नगरप्रमुख कुशवाहाले विद्यालय शान्ति क्षेत्र भएकाले कुनै पनि पक्षबाट विद्यालयको शैक्षिक वातावरण, शान्ति तथा सुरक्षामा असर पर्ने गतिविधि नगर्न आग्रह गरेका छन् ।
उनले घटनाको वास्तविकता छानबिनमार्फत बाहिर ल्याइने र दोषी देखिए कानुनअनुसार आवश्यक कारबाही गरिने बताएका छन् । घटनाका सम्बन्धमा प्रधानाध्यापक वीरेन्द्र झासँग प्रतिक्रिया लिन खोजिए पनि सम्पर्क हुन सकेन ।




