हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं जोड्ने वैकल्पिक मार्गमा सवारी साधनको चाप अत्यधिक बढेको छ ।
सवारी जाम नियन्त्रण गर्दै आवागमनलाई सहज र व्यवस्थित बनाउन स्थानीय प्रशासनले मालवाहक तथा यात्रुवाहक सवारीसाधनका लागि आउँदा र जाँदा फरक–फरक मार्ग प्रयोग गर्नुपर्ने गरी ‘वन–वे’ व्यवस्था लागू गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार १४ सिटभन्दा कम क्षमताका साना सवारीसाधनले काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्ग प्रयोग गर्नुपर्नेछ । काठमाडौं हुँदै हेटौंडा फर्किने क्रममा भने फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी मार्ग प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, ठूला यात्रुवाहक तथा मालवाहक सवारीसाधनका लागि काठमाडौं जाँदा त्रिभुवन राजपथ र हेटौंडातर्फ फर्किंदा कान्तिलोकपथ प्रयोग गर्नुपर्ने गरी रुट निर्धारण गरिएको प्रशासनले जनाएको छ ।
भारी सवारीलाई बेलिब्रिज प्रयोग नगर्न आग्रह
प्रशासनले त्रिभुवन राजपथनजिकै रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेको भन्दै इन्धन बोकेका तथा अत्यधिक भार भएका मालवाहक सवारी साधनलाई उक्त पुल प्रयोग नगर्न आग्रह गरेको छ । यस्ता सवारी साधनलाई बेलिब्रिज नजिकै निर्माण गरिएको डाइभर्सनमार्फत आवतजावत गर्न प्रशासनले अनुरोध गरेको छ ।
छोटो दूरीको यात्रा झण्डै पाँच घण्टा
यसअघि हेटौंडाबाट छोटो दूरीको वैकल्पिक मार्ग हुँदै काठमाडौं पुग्न सामान्य अवस्थामा करिब तीन घण्टा लाग्ने गरेको थियो । तर, पछिल्लो समय वैकल्पिक सडकमा सवारी साधनको चाप बढेपछि यात्रा अवधि झण्डै पाँच घण्टासम्म पुगेको प्रशासनले जनाएको छ ।
कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं आवतजावतका लागि प्रयोग भइरहेका वैकल्पिक मार्गमा सवारीको संख्या बढ्दा विभिन्न स्थानमा जामको समस्या देखिएको छ ।
नयाँ रुट व्यवस्थापन तथा ‘वन–वे’ प्रणालीबाट सवारीसाधनको आवागमन व्यवस्थित हुनुका साथै सडक जाम घट्ने र यात्रालाई थप सहज, सुरक्षित तथा व्यवस्थित बनाउन सहयोग पुग्ने प्रशासनको विश्वास छ ।




