रौतहट । पर्यटन विकास कार्यालय, गौर, रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख राजेश काफ्लेसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार काफ्लेसहित इन्जिनियर सुदीपप्रकाश तिमल्सेना, इन्जिनियर नितिशकुमार पटेल, राधाकृष्ण मन्दिरको अधुरो निर्माण कार्य योजनाअन्तर्गत गठित उपभोक्ता समितिका अध्यक्ष खहेरु साह तेली र कोषाध्यक्ष कुन्ती देवीविरुद्ध मुद्दा दायर गरिएको हो ।
आर्थिक वर्ष २०८१/८२ मा रौतहटको परोहा नगरपालिका ९ स्थित अधुरो राधाकृष्ण मन्दिर भवन निर्माण कार्यमा निर्धारित शर्त तथा मापदण्ड विपरीत फिल्डमा नभएको तथा नगरेको कामलाई भए गरेको देखाई गलत प्रतिवेदन तयार गरेको आयोगको आरोप छ ।
आयोगका अनुसार उनीहरूले झुट्टा बिल तथा भरपाई तयार गरी वास्तविकभन्दा बढी रकम भुक्तानी लिने दिने कार्यमार्फत भ्रष्टाचार गरेको देखिएको छ । उक्त कार्यमा संलग्नमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसुर गरेको आरोप लगाइएको छ ।
आयोगले आरोपितहरूबाट ६ लाख ८० हजार ५९२ रुपैयाँ बिगो कायम गरी सोहीअनुसार कैद तथा जरिवाना हुन मागदाबी गरेको छ । आयोगले मंगलबार उनीहरूविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।




