काठमाडौं । त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित भएपछि काठमाडौं–हेटौंडा जोड्ने वैकल्पिक मार्गको नयाँ रुट तथा कार्यतालिका सार्वजनिक गरिएको छ ।
वर्षातको समय र सडकको अवस्थालाई ध्यानमा राख्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा वैकल्पिक रुट निर्धारण गरिएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार काठमाडौंबाट हेटौंडाका लागि छुट्ने साना सवारीका लागि फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदीको रुट कायम गरिएको छ ।
त्यस्तै, हेटौंडाबाट काठमाडौं छुट्ने साना सवारी भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौं प्रवेश गर्नेछन् । यसैगरी, ठूला तथा मालवाहक सवारी काठमाडौंबाट चापागाउँ–भट्टेडाँडा–ठिङ्गन हुँदै हेटौंडा पुग्नेछन् ।
उक्त रुट प्रयोग गर्ने सवारीले साँझ ६:०० बजेभित्र ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । हेटौंडाबाट छुट्ने ठूला तथा मालवाहक सवारीका लागि भैंसे–पालुङ–टिस्टुङ–नौबिसे हुँदै काठमाडौं आउने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
मकवानपुरको त्रिखण्डी नजिकको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन बोकेका ट्याङ्कर तथा भारी मालवाहक सवारीलाई उक्त पुल प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । भारी मालवाहक सवारीका लागि बेलिब्रिजको छेउमै रहेको डाइभर्सन प्रयोग गर्न निर्देशन दिइएको प्रवक्ता सुवेदीले जानकारी दिए ।




