मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज स्वास्थ्यमा विशेष गरी पेटसम्बन्धी समस्या देखिन सक्छ । महत्वपूर्ण काममा हतार नगर्नुहोस् । साँझ लामो दूरीको यात्रा गर्दा असहजता हुन सक्ने भएकाले सकेसम्म यात्रा स्थगित गर्नु राम्रो हुनेछ । आर्थिक कारोबारमा सावधानी अपनाउनुहोस् । इष्टदेवको पूजा गरी रातो फूल अर्पण गर्दा मनोकामना पूरा हुने विश्वास छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
स्वास्थ्यमा सुधार हुँदै जानेछ । शरीरमा ऊर्जा र उत्साह बढ्नेछ । बिहानको समय नयाँ काम सुरु गर्न अनुकूल देखिन्छ । रोकिएका काम अघि बढ्नेछन् र नयाँ योजनाले गति लिन सक्छ । आज बोल्दा शब्द छनोटमा विशेष ध्यान दिनुहोस्, संयमित बोलीले सम्बन्ध थप मजबुत बनाउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
दिन उत्साहजनक रहनेछ । मनमा सकारात्मक भावना बढ्नेछ । कृषि तथा अन्नजन्य वस्तुको कारोबारबाट लाभ मिल्न सक्छ । आम्दानी भएपनि अनावश्यक खर्च बढ्ने सम्भावना छ । आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोस् । गाई वा कुकुरलाई खानेकुरा खुवाउँदा शुभ फल प्राप्त हुने विश्वास छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज पारिवारिक पक्षबाट सुखद समाचार प्राप्त हुन सक्छ । पैतृक सम्पत्ति वा पारिवारिक विषयबाट लाभ मिल्ने सम्भावना छ । काममा पदोन्नति वा जिम्मेवारी बढ्ने संकेत देखिन्छ । आमासँगको सम्बन्ध अझ आत्मीय बन्नेछ । सेतो चामल दान गर्नु आजका लागि शुभ मानिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेम तथा सम्बन्धका दृष्टिले दिन सुखद रहनेछ । प्रिय व्यक्तिसँग भेटघाट वा संवादको अवसर मिल्न सक्छ । बिहान स्वास्थ्यमा सामान्य समस्या देखिए पनि साँझतिर मानसिक तनाव बढ्न सक्छ । आफ्नो स्वास्थ्यप्रति लापरवाही नगर्नुहोस् । साँझ पीपलको रुखमुनि दियो बाल्दा सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ । कार्य क्षेत्रमा तपाईंको निर्णयलाई महत्व दिइनेछ । तर केही व्यक्तिबाट अनावश्यक आरोप वा आलोचना हुन सक्छ, त्यसैले विवादबाट टाढा रहनुहोस् । साँझको समय भने मनका लागि निकै सुखद रहनेछ । दैनिक काममा प्रयोग हुने औजार तथा मेसिन सफा राख्नु शुभ मानिन्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज खर्च बढ्ने सम्भावना छ । आवश्यक र अनावश्यक खर्च छुट्याएर अघि बढ्नु राम्रो हुनेछ । मध्याह्नको समयमा लामो यात्रा नगर्नुहोस् । विवाद निम्त्याउने कामबाट टाढा रहनु उचित हुनेछ । साँझ नयाँ काम वा योजनाबारे सोच बन्न सक्छ । विरोधी पक्षबाट समस्या आउन सक्ने भएकाले गोपनीय विषयमा सावधानी अपनाउनुहोस् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सन्तान पक्षबाट खुसीको समाचार प्राप्त हुन सक्छ । आर्थिक रूपमा लाभ मिल्ने अवसर आउनेछ । विदेश जाने वा वैदेशिक क्षेत्रसँग जोडिने अवसर प्राप्त हुन सक्छ । यद्यपि आज रिस तथा आवेग बढ्न सक्ने भएकाले निर्णय गर्दा संयम अपनाउनुहोस् । पर्याप्त पानी पिउनुका साथै अरूलाई पानी खुवाउनु शुभ मानिन्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज केही अप्रिय समाचारले मन खिन्न बनाउन सक्छ । दाम्पत्य जीवनमा सामान्य असमझदारी उत्पन्न हुन सक्ने भएकाले एकअर्काको भावनालाई बुझ्ने प्रयास गर्नुहोस् । साथीभाइसँग पनि अनावश्यक विवाद नगर्नुहोस् । गुरु तथा अग्रज व्यक्तिको आशीर्वाद लिएर काम सुरु गर्दा दिन सकारात्मक बन्नेछ ।
मकर (भो, जा, जि, जु, जे, जो, खा, खि, खु, खे, खो, गा, गि)
मनमा विभिन्न विचार खेलिरहन सक्छन् । छोटो वा रमाइलो यात्राको अवसर प्राप्त हुन सक्छ । कामको सिलसिलामा नयाँ ठाउँमा जाने सम्भावना पनि छ । साँझतिर शुभ समाचार प्राप्त हुँदा मन प्रसन्न हुनेछ । आर्थिक रूपमा कमजोर व्यक्ति वा मजदुरलाई सहयोग गर्नु आजका लागि शुभ मानिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज समग्र दिन सुखद रहनेछ । तपाईंको बोली र व्यवहारले अरूलाई प्रभावित पार्नेछ । परिवार तथा सन्तानबाट खुसी प्राप्त हुनेछ । नयाँ योजना बनाउने र भविष्यका कामलाई व्यवस्थित गर्ने राम्रो समय छ । कालो वा नीलो रंगका वस्तुको प्रयोगले सकारात्मक परिणाम दिलाउने विश्वास छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापार तथा व्यवसायमा अपेक्षा गरेअनुसारको परिणाम नआउन सक्छ । केही विषयमा मन असन्तुष्ट रहने सम्भावना छ । बिहान उत्साह र ऊर्जा उच्च रहेपनि दिउँसोपछि अल्छीपन बढ्न सक्छ । महत्वपूर्ण कामलाई प्राथमिकताका साथ पूरा गर्नुहोस् । मन्दिर वा पूजा स्थलमा पुगेर दियो बाल्दा मनमा शान्ति मिल्नेछ ।




