जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवमाथि दलित समुदायको कुलदेवी चम्पा देवीमाईको मन्दिर निर्माणमा रोक लगाएको भन्दै जातीय विभेद गरेको आरोप लागेको छ ।
पिपरा गाउँपालिका ३ बन्चटोलका दलित समुदायले पुस्तौँदेखि पूजा गर्दै आएको चम्पा देवीमाईको मन्दिर पोखरीको डिलमा निर्माण गर्न खोज्दा गाउँपालिका अध्यक्ष यादवले आफूहरूमाथि जातीय विभेद गर्दै मन्दिर निर्माण गर्न नदिएको स्थानीयको आरोप छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा राजेश दास, गणेश दास तत्मा, रामनाथ पासवान र भोला दासलगायतले गाउँपालिका अध्यक्षले आफूहरूले मन्दिर निर्माणका लागि छुट्याएको स्थानमा हलुवाई समुदायको कुलदेवता गणिनाथ भगवान गोविन्दको मन्दिर निर्माण गर्न अनुमति दिएको आरोप लगाए ।
उनीहरूका अनुसार उक्त मन्दिर निर्माणका लागि गाउँपालिकाले दुई वर्षसम्म वार्षिक १०/१० लाख रुपैयाँका दरले बजेटसमेत उपलब्ध गराएको छ । तर, आफूहरूले सोही क्षेत्रमा चम्पा देवीमाईको मन्दिर निर्माण गर्न खोज्दा पोखरी तथा पैनी क्षेत्र भएकाले कानुनी रूपमा निर्माण गर्न नमिल्ने भन्दै रोक लगाइएको उनीहरूको भनाइ छ ।
दलित समुदायका अनुसार यसअघि चम्पा देवीमाईको मन्दिर निजी जग्गामा रहेको थियो । जग्गा बाँडफाँट भएपछि सार्वजनिक जग्गामा मन्दिर निर्माण गर्ने उद्देश्यले पोखरीको डिलमा निर्माण सुरु गर्न खोजिएको थियो । तर, त्यस क्रममा आफूहरूमाथि जातीय विभेद गर्नुका साथै कुटपिटसमेत गरिएको उनीहरूले आरोप लगाएका छन् ।
पत्रकार सम्मेलनमा राजेश दासले पैनी क्षेत्रमा मन्दिर निर्माण गर्न नमिल्ने कानुन दलित समुदायका लागि मात्रै लागू हुने हो कि हलुवाई समुदायका लागि पनि लागू हुने हो भन्ने प्रश्न गरे । उनका अनुसार गाउँपालिकाले मात्रै नभई प्रदेश सरकारले समेत गत वर्ष मन्दिर निर्माणका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
अर्का सहभागी गणेश दास तत्माले दलित समुदायका लागि पोखरी तथा पैनी क्षेत्र पुरी मन्दिर निर्माण गर्नु कानुनविपरीत हो भने त्यही क्षेत्रमा निर्माण गरिएको हलुवाई समुदायको मन्दिर समेत हटाउनुपर्ने माग गरे । अन्यथा कानुनविपरीत बजेट निकासा गर्ने सम्बन्धित निकायका कर्मचारीमाथि समेत कारबाही हुनुपर्ने उनको भनाइ छ ।
तत्माले आफूहरूमाथि भएको भनिएको कुटपिटबाट एक जनाको नाकको हड्डी भाँचिएको दाबी गरे । घाइतेको उपचारसम्बन्धी रिपोर्ट हुँदा समेत प्रहरीले जाहेरी दर्ता गर्न नमानेको र उल्टै हप्काएर पठाएको आरोप उनले लगाए ।
दलित समुदायले गाउँपालिका अध्यक्षसँगै प्रमुख जिल्ला अधिकारीमाथिसमेत विभेद गरेको आरोप लगाएका छन् । गाउँपालिकाले मन्दिर निर्माणमा रोक लगाएपछि आफूहरू प्रमुख जिल्ला अधिकारीसमक्ष पुगेको तर उनले समेत हलुवाई समुदायको पक्षमा बोल्दै मन्दिर निर्माण गर्न नदिने बताएपछि बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको उनीहरूको भनाइ छ ।
उनीहरूले भदौ १६ गते भएको छलफलका क्रममा आफूहरूलाई मन्दिर अन्यत्र निर्माण गर्न दबाब दिइएको तथा मुद्दा दर्ता गरे कारबाही गर्ने धम्की समेत दिइएको आरोप लगाएका छन् ।
दलित समुदायले घटनाको निष्पक्ष छानबिन गरी जातीय विभेद, कुटपिट तथा धम्कीमा संलग्न भनिएका व्यक्तिमाथि कानुनी कारबाही गर्न राष्ट्रिय दलित आयोगसमक्ष माग गरेका छन् ।
अध्यक्ष यादव भन्छन्– ‘विभेद गरेको छैन’
यता पिपरा गाउँपालिका अध्यक्ष रामजानकी यादवले आफूले कुनै पनि समुदायमाथि विभेद नगरेको बताएका छन् । चम्पा देवीमाईको मन्दिर निर्माणको विषयमा विवाद रहेको स्वीकार गर्दै अध्यक्ष यादवले उक्त स्थानमा पहिलादेखि नै हलुवाई समुदायको गणिनाथको मन्दिर रहेको बताए ।
सोही मन्दिरबाट करिब १० फिटको दूरीमा अर्को मन्दिर निर्माण गर्न खोजिएकाले विवाद थप बढ्न सक्ने देखेर निर्माणमा रोक लगाइएको उनको भनाइ छ ।
अध्यक्ष यादवले भने, “मैले कसैसँग कुनै विभेद गरेको छैन । त्यहाँ पहिलादेखि नै हलुवाई जातिको गणिनाथको मन्दिर छ । त्यससँगै करिब १० फिटको दूरीमा अर्को मन्दिर निर्माण गर्न खोजिएकाले पहिलेदेखि रहेको विवाद झन् बढ्ने देखिएपछि रोक लगाएका हौं ।”
उनका अनुसार दलित समुदायका लागि भूईया महाराजको मन्दिर नजिकै जग्गा उपलब्ध गराउनुका साथै बजेटसमेत दिने व्यवस्था गरिएको छ । तर, आफूहरूले गरेको प्रस्ताव दलित समुदायले स्वीकार नगरेको उनले बताए ।
अध्यक्ष यादवले प्रमुख जिल्ला अधिकारीले समेत शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखेर दुवै पक्षलाई सम्झाउने प्रयास गरेको तर उनीहरूले नमानेको दाबी गरे । उनले अनावश्यक रूपमा विवाद सिर्जना गर्न खोजिएको आरोप समेत लगाए ।




