सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका ३ हरकठवामा चार दिनदेखि बेपत्ता रहेकी १० वर्षीया बालिका मृत फेला परेकी छन् । स्थानीय रामविनय यादवकी छोरी चाँदकुमारी यादव धनकौल गाउँपालिका ४ स्थित मनुष्मारा खोलामा मृत फेला परेकी हुन् ।
बालिकाको शव फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गोपीकृष्ण सुवेदीले जानकारी दिए । प्रहरीका अनुसार बालिकाको नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक आशङ्का गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी सुवेदीले बताए ।
गत आइतबारदेखि बेपत्ता बालिकाको परिवारका सदस्य, स्थानीयवासी र प्रहरीले खोजी गरिरहेका थिए । खोजीका क्रममा बुधबार साँझ बालिकालाई मनुष्मारा खोलामा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।




