सप्तरी । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोपछि सप्तरीका १२ जना इन्जिनियरसहित ४८ जना अझै सम्पर्कविहीन छन् । जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार बाढीपहिरोपछि सप्तरीबाट कुल ५२ जना सम्पर्कविहीन भएका थिए ।
तीमध्ये बुधबार दिउँसोसम्म तीन जना सम्पर्कमा आएका छन् भने एक जनाको शव फेला परेको छ । बाँकी ४८ जना अझै सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ ।
सम्पर्कविहीन हुनेमा १२ जना इन्जिनियर छन् । रोजगारीका क्रममा सप्तरीबाट रसुवा, नुवाकोटलगायत जिल्लामा सञ्चालित जलविद्युत् तथा पूर्वाधार आयोजनामा पुगेका प्राविधिक जनशक्ति बाढीपहिरोको चपेटामा परेका हुन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवका अनुसार सम्पर्कविहीन व्यक्तिहरूको विवरण निरन्तर अद्यावधिक भइरहेको छ । उनका अनुसार सम्पर्कविहीन हुनेमा इन्जिनियरसँगै ओभरसियर, कामदार, चालक, शिक्षक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी समेत छन् ।
एकैपटक १२ इन्जिनियर सम्पर्कविहीन
सप्तरीबाट सम्पर्कविहीन इन्जिनियरमा तिरहुत गाउँपालिका ४ डिमन निवासी रविन्द्रकुमार यादव, सुरुङ्गा नगरपालिका २ निवासी सरोज चौधरी, तिलाठी कोइलाडी गाउँपालिका २ निवासी मनिषकुमार मण्डल, बोदेबर्साइन नगरपालिका ८ निवासी शिवकुमार यादव, देवकुमार यादव र सचितकुमार यादव रहेका छन् ।
यस्तै तिलाठी कोइलाडी गाउँपालिका ४ निवासी संजय साह, शम्भुनाथ नगरपालिका ३ ट्राफिक चोक निवासी सुरेन्द्रदेव चौधरी, डाक्नेश्वरी नगरपालिका ५ पातो निवासी अभिनाश पण्डित, विष्णुपुर गाउँपालिका १ जमुनी निवासी तथा नुवाकोटमा कार्यरत ओमनारायण यादव, राजगढ गाउँपालिका ६ निवासी विजयकुमार यादव र महदेवा गाउँपालिका २ निवासी सन्तोष यादव छन् ।
इन्जिनियरपछि ठूलो संख्या कामदारको
सम्पर्कविहीन हुनेमा कामदारको संख्या सबैभन्दा ठूलो रहेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीका अनुसार एक बालकसहित ३२ जना कामदार सम्पर्कविहीन भएका थिए ।
तीमध्ये खडक नगरपालिका ५ रञ्जितपुर निवासी तथा नुवाकोट हाइड्रोपावरमा कार्यरत सन्तोष चौधरीको शव फेला परेको छ । चौधरीको शव फेला परेपछि एक बालकसहित ३१ जना कामदार अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । एउटै आयोजनासँग सम्बन्धित ठूलो संख्यामा कामदार तथा प्राविधिक जनशक्ति सम्पर्कविहीन भएका हुन् ।
यसैगरी, एक लोडर चालक र एक सवारी चालक गरी दुई जना चालक पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । सम्पर्कविहीन हुनेमा दुई जना शिक्षक, दुई जना स्वास्थ्यकर्मी र दुई जना सुरक्षाकर्मीसमेत छन् ।
तीमध्ये एक जना शिक्षक, एक जना स्वास्थ्यकर्मी र एक जना सुरक्षाकर्मी सम्पर्कमा आइसकेका छन् । विष्णुपुर गाउँपालिका १ खुरहुरिया निवासी प्राविधिक धारका शिक्षक अजयकुमार यादव पनि सम्पर्कविहीनको सूचीमा छन् ।
सुरक्षाकर्मीतर्फ राजविराज नगरपालिका १० मटिगढी निवासी तथा रसुवामा नेपाली सेनामा कार्यरत रोशनकुमार यादव सम्पर्कविहीन छन् । कञ्चनरुप नगरपालिका ८ निवासी सुरक्षाकर्मी अजय मरिक भने सम्पर्कमा आइसकेका छन् ।
परिवारमा बढ्दो चिन्ता
एकैपटक ठूलो संख्यामा इन्जिनियर तथा कामदार सम्पर्कविहीन भएपछि सप्तरीका परिवारमा चिन्ता बढेको छ । रोजगारीका लागि घरबाट टाढा पुगेका आफन्तको अवस्थाबारे जानकारी नपाउँदा परिवारजन थप चिन्तित बनेका छन् ।
नेपालमा जलविद्युत् तथा ठूला पूर्वाधार आयोजना प्रायः भौगोलिक रूपमा कठिन तथा जोखिमयुक्त क्षेत्रमा निर्माण भइरहेका छन् । यस्ता आयोजनामा ठूलो संख्यामा इन्जिनियर, ओभरसियर तथा कामदार खटिने गरेका छन् ।
भोटेकोशी बाढीपहिरोपछि सप्तरीका १२ इन्जिनियरसहित ठूलो संख्यामा कामदार सम्पर्कविहीन हुनुले जोखिमयुक्त क्षेत्रमा सञ्चालित आयोजनामा विपद् जोखिम न्यूनीकरण तथा जनशक्तिको सुरक्षालाई उच्च प्राथमिकता दिनुपर्ने देखिएको छ ।
खोजी तथा उद्धारलाई तीव्र बनाउन माग
सम्पर्कविहीन सबै व्यक्तिको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिनुपर्ने परिवारजनले माग गरेका छन् । लामो समयसम्म आफन्तको अवस्थाबारे जानकारी नपाउँदा परिवारमा आशंका, त्रास र मानसिक दबाब बढ्ने भएकाले सम्पर्कविहीन व्यक्तिको अवस्थाबारे नियमित तथा विश्वसनीय सूचना उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ ।
सप्तरीबाट एकैपटक १२ जना इन्जिनियरसहित ठूलो संख्यामा व्यक्ति सम्पर्कविहीन हुनु गम्भीर विषय भएकाले खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउनुपर्ने स्थानीयको भनाइ छ । साथै, आगामी दिनमा जोखिमयुक्त क्षेत्रमा सञ्चालित आयोजना तथा त्यहाँ कार्यरत जनशक्तिको सुरक्षाका लागि प्रभावकारी विपद् व्यवस्थापन तथा सुरक्षा योजना बनाउनुपर्ने आवश्यकता देखिएको छ ।




