जनकपुरधाम । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितका नाममा राहत संकलन गर्ने बहानामा हुन सक्ने अवैध गतिविधि रोक्न धनुषा जिल्ला विपद् व्यवस्थापन समितिले निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले पुराना कपडा, अखाद्य वस्तु, चाँडै सड्ने सामाग्री तथा प्रयोगमा नआउने सामान संकलन नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।
त्यस्तै, राहतका नाममा स्वदेश तथा विदेशमा रहेका नागरिकलाई आह्वान गरी निजी बैंक खाता वा क्यूआरमार्फत रकम संकलन गर्ने कार्यसमेत रोक्न समितिले निर्देशन दिएको छ । त्यस्तो कार्य भएको पाइएमा स्थानीय प्रशासनले कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिँदै समितिले विपद् प्रभावितका नाममा राहत संकलन गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।
त्यसैगरी, विपद्का लागि आर्थिक सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक बैंकिङ प्रणालीमार्फत सहयोग गर्न र त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयलाई गराउन समितिले आग्रह गरेको छ ।
बाढी पहिरोबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका नागरिकको राहत तथा पुन:स्थापनाका लागि जिल्लाका सरकारी निकाय, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, संघ संस्था तथा सर्वसाधारणलाई सहयोग गर्न समितिले आह्वान गरेको छ ।
बैठकले रसुवाको भोटेकोशीमा आएको बाढीका कारण धनुषाका नागरिकसमेत प्रभावित भएको हुनसक्ने भन्दै उनीहरूको शीघ्र खोजतलास तथा उद्धारका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
बाढीमा परी मृत्यु भएका धनुषाका नागरिकका परिवारले शव आफ्नो स्थायी घर ठेगानासम्म ल्याई परम्पराअनुसार दाहसंस्कार गर्न चाहेमा सम्बन्धित पालिकाले आवश्यक सहयोग गर्ने निर्णय समेत गरिएको छ ।
राहतस्वरूप खाद्यान्न, लत्ताकपडा, औषधिलगायत सामाग्री उपलब्ध गराउँदा आवश्यकताको पहिचान गरी तोकिएका फोकल पर्सनसँग समन्वय गरेर आवश्यक सामग्री मात्र संकलन गर्नुपर्ने निर्णय गरिएको समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले जानकारी दिए ।
राहत सामाग्रीको ढुवानी तथा व्यवस्थापन समेत व्यवस्थित रूपमा गर्नुपर्नेमा समितिले जोड दिएको छ । मनसुनजन्य विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि जिल्लाका सबै सरकारी तथा सम्बन्धित निकायलाई पूर्वतयारी र प्रतिकार्यमा समन्वयात्मक रूपमा परिचालन हुन बैठकले निर्देशन दिएको छ ।
यसैबीच, धनुषामा बाढी तथा डुबानको जोखिम बढ्न सक्ने नदी तथा खोल्सीको अवस्थाबारे पनि बैठकले ध्यानाकर्षण गराएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन, जनकपुरधामको कार्य क्षेत्रभित्र पर्ने विभिन्न नदी तथा खोलामा बाढीका कारण जोखिममा रहेका क्षेत्रमा तत्काल आवश्यक नदी नियन्त्रण तथा मर्मत सम्भारका काम अघि बढाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको जनाइएको छ ।




