सिरहा । सिरहाको मिर्चैया नगरपालिकाले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुन:स्थापनाका लागि २५ लाख ५८ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । पालिकाका तर्फबाट ५ लाख, जनप्रतिनिधिको १५ दिनको सेवा सुविधा र कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीहरूको ५ दिन बराबरको पारिश्रमिक सहयोग गर्न लागिएको हो ।
सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरूसँगको छलफलपछि शुक्रबार बसेको कार्यपालिका बैठकले उक्त रकम राहतस्वरूप प्रदान गर्ने निर्णय गरेको नगर प्रमुख श्रवण यादवले जानकारी दिएका छन् । पालिकाबाट दिने भनेको रकम सरकारी नै भएको र यस्तो विपद्को घडीमा जनप्रतिनिधि तथा कर्मचारीको पनि दायित्व हुनुपर्छ भन्ने सल्लाह बमोजिम निर्णय गरिएको यादवले बताएका छन् ।
नगरपालिकाको पाँच लाख, कर्मचारीको ५ दिनको पारिश्रमिक र जनप्रतिनिधिको १५ दिनको सेवा सुविधा जोड्दा २५ लाख ५८ हजार रुपैयाँ पुग्ने नगर प्रमुख यादवले स्पष्ट पारेका छन् । उक्त रकम एक सातापछि प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएकोसमेत उनले जानकारी दिएका छन् ।
यसअघि सिरहाकै लहान नगरपालिकाले ११ लाख तथा गोलबजार, सिरहा र कल्याणपुर लगायतका नगरपालिकाले ५–५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेका छन् ।




