जनकपुरधाम । रसुवाको भोटेकोशीलगायत विभिन्न नदी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी मधेश प्रदेशका विभिन्न जिल्लाका २२० जना सम्पर्कविहीन भएका छन् । तीमध्ये ३८ जना सम्पर्कमा आएका छन् भने दुई जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयले शुक्रबार बिहानसम्म उपलब्ध गराएको तथ्यांकअनुसार प्रदेशका आठवटै जिल्लाबाट २२० जना सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीनमध्ये बाराका एक र सप्तरीका एक गरी दुई जनाको मृत्यु भएको प्रहरी विवरणमा उल्लेख छ ।
तर, प्रहरीको तथ्यांकमा समावेश नभएको विवरणअनुसार सप्तरीका एक जना व्यक्ति सम्पर्कमा आएका छन् भने महोत्तरीको गौशाला नगरपालिका ५ का एक जनाको शव फेला परेको छ ।
सप्तरीका सञ्जय साह सम्पर्कमा आएको तथा महोत्तरीको गौशाला १ का कुशल खप्ताङ्गी मगरको शव फेला परेको विवरण प्रहरी तथ्यांकमा समावेश हुन बाँकी रहेको जनाइएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभुप्रसाद ढकालले प्रहरीलाई प्राप्त जानकारीका आधारमा तथ्यांक अद्यावधिक भइरहेको बताए ।
उनका अनुसार मगरको शव फेला परेको जानकारी प्रहरी कार्यालयमा आइसकेको छैन भने शुक्रबार बिहान करिब साढे १० बजे साह सम्पर्कमा आएको जानकारी ढिलो प्राप्त भएकाले तथ्यांकमा समावेश हुन सकेको छैन ।
प्रहरीका अनुसार सबैभन्दा बढी सप्तरीका ५२ जना सम्पर्कविहीन छन् । तीमध्ये तीन जना सम्पर्कमा आएका छन् भने एक जनाको मृत्यु भएको छ । त्यस्तै, पर्साका ४६ जना सम्पर्कविहीन रहेकामा तीन जना सम्पर्कमा आएका छन् ।
बाराका ३० जनामध्ये चार जना सम्पर्कमा आएका छन् भने एक जनाको मृत्यु भएको छ । रौतहटका २० जनामध्ये छ जना, सर्लाहीका २७ जनामध्ये छ जना, महोत्तरीका १७ जनामध्ये सात जना र धनुषाका १४ जनामध्ये सात जना सम्पर्कमा आएका छन् । सिरहाका १४ जनामध्ये दुई जना सम्पर्कमा आएको प्रहरी विवरणमा उल्लेख छ ।
प्रहरी र सेनाका कर्मचारी पनि सम्पर्कविहीन
बाढीका कारण सम्पर्कविहीन हुनेमा प्रहरी कर्मचारी तथा नेपाली सेनाका जवानसमेत रहेका छन् । प्रहरीतर्फ १० जना कर्मचारी सम्पर्कविहीन भएकामा आठ जना सम्पर्कमा आएका छन् । त्यस्तै, नेपाली सेनातर्फ पाँच जना सम्पर्कविहीन रहेकामा एक जना सम्पर्कमा आएका छन् ।
प्रहरीको शुक्रबार बिहानसम्मको विवरणअनुसार मधेश प्रदेशका आठ जिल्लाबाट २२० जना सम्पर्कविहीन, ३८ जना सम्पर्कमा आएका र दुई जनाको मृत्यु भएको छ । यद्यपि, नयाँ विवरण प्राप्त हुने क्रम जारी रहेकाले यी संख्यामा परिवर्तन हुन सक्ने प्रहरीले जनाएको छ ।
रसुवाको भोटेकोशीलगायतका क्षेत्रमा आएको बाढीका कारण ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएपछि खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ । नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा सम्बन्धित निकायसँग समन्वयको काम जारी राखेको जनाएको छ ।




