सर्लाही । सर्लाहीको कविलासी नगरपालिका ८ स्थित कविलासी बजारमा इ-रिक्साको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कविलासी बजारकी ६० वर्षीया स्वागवती ठाकुर रहेकी छन् ।
नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत कविलासी बजारमा शनिबार साँझ नवलपुरबाट कविलासीतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ह ०६९७ नम्बरको इ-रिक्साले पैदल हिँडिरहेकी ठाकुरलाई ठक्कर दिएको थियो ।
इ-रिक्साको ठक्करबाट गम्भीर घाइते भएकी ठाकुरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो । तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरीले इ-रिक्सा र चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।




