रौतहट । भारतीय सीमासँग जोडिएको रौतहटको ईशनाथ नगरपालिकामा दाजुभाइबीचको सामान्य विवाद उग्र बन्दा दुई वटा मोटरसाइकलमा आगजनी भएको छ ।
ईशनाथ नगरपालिका ९ लौतना टोलमा शनिबार साँझ करिब ७ बजे घटना भएको हो । घरअगाडि पार्किङ गरेर राखिएका मोटरसाइकलमा एक्कासि आगो लागेपछि स्थानीयबीच केहीबेर खैलाबैला मच्चिएको थियो ।
प्रहरीका अनुसार ४८ वर्षीय प्रमोद साह कानु र उनका ३९ वर्षीय भाइ मनोज साह कानुबीच मोटरसाइकलको विषयलाई लिएर विवाद भएको थियो ।
मादक पदार्थ सेवन गरेका प्रमोदले विवादकै क्रममा पेट्रोल छर्केर आफ्नै भारतीय नम्बर प्लेटको ग्यालेम्बर मोटरसाइकल र भाइ मनोजको साइन मोटरसाइकलमा आगो लगाइदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
आगोका कारण दुवै मोटरसाइकल केही बेरमै पूर्ण रूपमा जलेर नष्ट भएका छन् । आगजनीबाट करिब २ लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी औरैयाबाट प्रहरी सहायक निरीक्षक हरिशंकर साहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले आगजनीमा संलग्न प्रमोदलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




