बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका ७ छातापिप्रास्थित आर्मी ब्यारेकअगाडि बोलेरो पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।
सोमबार बिहान करिब ८:१५ बजे पथलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ च २२७७ नम्बरको खाली बोलेरो पिकअप आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो । डिभाइडर पार गरेको पिकअप सडकको दाहिनेतर्फ पल्टिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पिकअप चालक पर्साको वीरगन्ज महानगरपालिका ३० प्रसोतिपुर बस्ने वकिल मिया अन्सारीका करिब २२ वर्षीय छोरा जैमुदिन अन्सारी गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएको थियो ।
उपचारका क्रममा इसिजी गर्दा बिहान ८:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । मृतक अन्सारीको शव सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, पिकअपका सहचालक पर्साको विश्रामपुर गाउँपालिका ९ बस्ने सुभान अन्सारीका करिब २० वर्षीय छोरा स्वयमभुला अन्सारी घाइते भएका छन् ।
उनको बायाँ हात र बायाँ खुट्टामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि इलाका प्रहरी कार्यालय जितपुरबाट वरिष्ठ प्रहरी नायब निरीक्षक उमेश निरौलाको कमान्डमा ट्राफिक प्रहरीसहित पाँच जनाको टोली घटनास्थलमा पुगेको थियो ।
त्यस्तै, इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमान्डमा पाँच जनाको टोली पनि घटनास्थलमा खटिएको थियो । प्रहरीका अनुसार दुर्घटनाका कारण सडकमा कुनै अवरोध भएको छैन । दुर्घटनामा परेको बोलेरो पिकअप इलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा रहेको छ ।




