जनकपुरधाम । विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका १२ जना प्रतिवादीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत धनुषाको फैसला कार्यान्वयन अभियानअन्तर्गत खोजतलास गर्ने क्रममा उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परेका सबैलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत धनुषामा पेस गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालका अनुसार पक्राउ पर्नेहरूमध्ये ठगी मुद्दामा २ वर्ष कैद र २ लाख ३२ हजार २५१ रुपैयाँ जरिवाना तोकिएका एक जना तथा कुटपिट एवं लुटपाट मुद्दामा ४ सय रुपैयाँ जरिवाना तोकिएका एक जना छन् ।
त्यस्तै, ज्यान मार्ने उद्योग मुद्दामा ६ वर्ष कैद सजाय तोकिएका एक जना, सोही मुद्दामा ५ वर्ष कैद सजाय पाएका दुई जना तथा कुटपिट मुद्दामा २ वर्ष कैद सजाय तोकिएका एक जना पनि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी एकाइबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । अदालतबाट कैद तथा जरिवाना सजाय फैसला भई फरार रहेका अन्य प्रतिवादीहरूको समेत खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।




