जनकपुरधाम । गुठी संस्थानले जनकपुरधाममा सञ्चालन गरेको पोखरीको जग्गा अतिक्रमणमुक्त अभियानविरुद्ध स्थानीयवासी सडकमा उत्रिएका छन् । जनकपुरधाम उपमहानगरपालिका १४ स्थित लबकी पोखरीको डिलनजिक घर बनाएर बसेका स्थानीयवासीले गुठी संस्थानले मापदण्ड र कानुनविपरीत आफूहरूको घर भत्काउन लागेको आरोप लगाएका छन् ।
वडा सदस्य रमेश साहको अगुवाइमा स्थानीयवासीले पूर्व-पश्चिम राजमार्गअन्तर्गत जनकपुरधाम–ढल्केवर सडकखण्डको पिडारी चोकमा बिहानैदेखि घण्टौँ सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘गुठी संस्थान मुर्दावाद’, ‘मापदण्डविपरीतको अभियान बन्द गर’, ‘२०६२ सालको प्रतिवेदन खारेज गर’ र ‘२०४६ को नक्सा कायम गर’ भन्दै चर्को नाराबाजी गरेका थिए ।
वडा सदस्य साहले लबकी पोखरी गुठी संस्थानको स्वामित्वमा नरहेको दाबी गर्दै भने, “आफूसहित करिब ४२ जना ७० वर्षभन्दा बढी समयदेखि घर बनाएर बस्दै आएका छौँ । उक्त जग्गासम्बन्धी विभिन्न कागजात तथा प्रमाण हामीसँग हुँदा हुँदै गुठीले घर भत्काउने गरी कानुनविपरीत रेखाङ्कन गरेको छ ।”
यस्तै, स्थानीय श्याम यादवले आफूहरूले मापदण्ड वा कानुनविपरीत घर बनाएको प्रमाणित भएमा आफूहरूले अवरोध नगर्ने बताए । उनले भने, “जुन पोखरी गुठी संस्थानको स्वामित्वमै छैन, त्यसमा बलजफ्ती दाबी गर्दै हाम्रो घर तोड्न खोजिएको हो ।”
प्रदर्शनमा सहभागी विन्देश्वर देवी दासले आफूहरू तीन पुस्तादेखि सोही घरमा बस्दै आएको बताए । उनले गुठीको जग्गामा ठूला-ठूला भवन बनाएर होटल तथा अस्पताल सञ्चालन गर्ने र घरबास गर्दै आएका पहुँचवालाको संरचना नभत्काई गरिबको घरमा मात्र डोजर चलाउन खोजिएको आरोप लगाए ।
गुठी संस्थानको शाखा कार्यालय धनुषामातहत जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका अतिक्रमित पोखरीका डिल खाली गराउने अभियानलाई तीव्र पारिएको छ । गत भदौ ६ गते जनकपुरधामका अतिक्रमित सातवटा पोखरीका डिलमा रहेका घरहरू डोजर लगाएर भत्काइएको थियो ।
त्यसको १४ औँ दिन अर्थात् भदौ १९ गते शुक्रबार दोस्रो चरणमा १५ वटा पोखरीका डिल सात दिनभित्र खाली गर्न सूचना जारी गरिएको थियो । गुठी संस्थानले वडा नम्बर १४ स्थित लबकी पोखरीसहित देवान पोखरी (चन्द्रकूप), मध्यमासर, रुक्मिणी सर, विडाल सर (विराही), गेन्ही पोखरी, ठाडी पोखरी, कपालमोचनी सर, पुरन्दर सर, लवकी पोखरी (जिरोमाइलभन्दा उत्तरपूर्वी), लक्ष्मण सर (बलराम सर), पापमोचनी सर, अग्निकुण्ड, सीताकुण्ड र विहारकुण्डलगायत पोखरी तथा तिनका डिलमा भएको अतिक्रमण हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनको समय दिएको छ ।
सात दिनभित्र पोखरीका डिल खाली नगरिए आठौँ दिनदेखि पुन: डोजर लगाएर संरचना भत्काइने गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलले बताएका छन् ।
पहिलो चरणमा कच्ची घर मात्र भत्काइएको र आर्थिक लेनदेनका आधारमा पहुँचवालाका घर नभत्काइएको भन्ने आरोपको खण्डन गर्दै सदस्य सचिव पोखरेलले भने, “हामीले कतै पनि वा कसैसँग काखापाखा वा आर्थिक लेनदेन गरेका छैनौँ । सम्बन्धित नापी कार्यालयले रेखाङ्कन गरिदिएको नापनक्साअनुसार भत्काएका हौँ । नापी कार्यालयले कुन आधारमा रेखाङ्कन गर्यो र अन्य व्यक्तिको लालपुर्जा कसरी बन्यो भन्ने कुरा तिनै पदाधिकारीहरूलाई थाहा होला ।”




