सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका १० लाई नेपालको दोस्रो मर्यादित महिनावारीमैत्री वडा घोषणा गरिने भएको छ । लालबन्दी नगरपालिका ७ मा रहेको बाल संरक्षण संस्थाले राधा पौडेल फाउन्डेसनको सहकार्यमा सञ्चालन गर्दै आएको ‘यौन तथा प्रजनन स्वास्थ्यका लागि मर्यादित महिनावारी’ कार्यक्रमअन्तर्गत वडा नं. १० लाई यही भदौ २५ गते मर्यादित महिनावारीमैत्री वडा घोषणा गर्न लागिएको हो ।
वडालाई मर्यादित महिनावारीमैत्री वडा घोषणा गर्न लागिएको जानकारी मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो । लालबन्दी नगरपालिका १० को आयोजना तथा बाल संरक्षण संस्थाको सहजीकरणमा आयोजित पत्रकार सम्मेलन वडा अध्यक्ष टोपबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
बाल संरक्षण संस्थाकी अध्यक्ष राधा घिमिरेका अनुसार मर्यादित महिनावारीसम्बन्धी विभिन्न सूचकमा केन्द्रित भएर वडाभित्र विगत तीन वर्षदेखि निरन्तर काम हुँदै आएको छ । हालै गरिएको सर्वेक्षणमा ७० प्रतिशतभन्दा बढी घरपरिवारले महिनावारीका समयमा कुनै किसिमको विभेद नगर्ने गरेको पाइएको उनले बताए ।
“महिनावारीका विषयमा रहेका सामाजिक अन्धविश्वास, विभेद र गलत धारणालाई न्यूनीकरण गर्दै सुरक्षित तथा सम्मानजनक महिनावारी व्यवस्थापनका लागि समुदायस्तरमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छौँ,” घिमिरेले भने ।
उनले लालबन्दी नगरपालिका ३ लाई २०८३ जेठ ११ गते नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा गरिएको उल्लेख गर्दै वडा नं. १० लाई भदौ २५ गते नेपालको दोस्रो मर्यादित महिनावारीमैत्री वडा घोषणा गर्न लागिएको जानकारी दिए ।
वडा अध्यक्ष टोपबहादुर श्रेष्ठले मर्यादित महिनावारीमैत्री वडा घोषणा गर्ने अवस्थासम्म पुग्नुमा वडाभित्र सञ्चालन गरिएका निरन्तर सचेतना तथा समुदायकेन्द्रित कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको बताए ।
उनका अनुसार विगत तीन वर्षदेखि वडाका विभिन्न समुदायमा महिनावारीसम्बन्धी सचेतना फैलाउने, किशोरी तथा महिलालाई आवश्यक जानकारी दिने र महिनावारीलाई लाज तथा विभेदको विषय नभई स्वास्थ्य र अधिकारको विषयका रूपमा स्थापित गर्ने प्रयास हुँदै आएको छ ।
“महिनावारी प्राकृतिक प्रक्रिया हो भन्ने बुझाइ समुदायमा स्थापित गर्न निरन्तर काम गरेका छौँ,” वडा अध्यक्ष श्रेष्ठले भने, “बाल क्लब, महिला क्लब लगायतका समूह गठन गरी उनीहरूलाई परिचालन गर्दै महिनावारीसम्बन्धी सचेतना र व्यवहार परिवर्तनका गतिविधि सञ्चालन गरेका कारण आज यो अवस्थामा आइपुगेका हौँ ।”
कार्यक्रमअन्तर्गत वडामा बाल क्लब तथा महिला क्लब गठन गरी किशोरी, महिला, अभिभावक तथा समुदायका अन्य सदस्यलाई महिनावारीसम्बन्धी जानकारी तथा सचेतना प्रदान गरिएको संस्थाले जनाएको छ ।
महिनावारीका समयमा हुने सामाजिक विभेद अन्त्य गर्ने, स्वच्छता कायम गर्ने, सुरक्षित महिनावारी व्यवस्थापनका लागि आवश्यक सामग्री तथा पूर्वाधारमा पहुँच बढाउने र महिनावारीलाई मर्यादित बनाउने विषयमा समुदायस्तरमा विभिन्न गतिविधि सञ्चालन गरिएको बताइएको छ ।
मर्यादित महिनावारीमैत्री वडा घोषणाका लागि आवश्यक विभिन्न सूचक तथा मापदण्ड पूरा गर्ने उद्देश्यले वडा, बाल संरक्षण संस्था, बाल क्लब, महिला क्लब तथा समुदायको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको आयोजकको भनाइ छ ।
महिनावारीलाई अझै पनि कतिपय समुदायमा लाज, अशुद्धता र सामाजिक विभेदसँग जोडेर हेर्ने गरिन्छ । यस्तो सोचका कारण किशोरीको शिक्षा, महिलाको स्वास्थ्य तथा दैनिक जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले मर्यादित महिनावारीसम्बन्धी सचेतना र व्यवहार परिवर्तन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।
वडा नं. १० लाई मर्यादित महिनावारीमैत्री वडा घोषणा गरिएपछि पनि अभियानलाई निरन्तरता दिँदै समुदायमा कायम रहेका गलत अभ्यास तथा विभेद हटाउने, किशोरी तथा महिलाको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने र महिनावारीमैत्री वातावरण निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखिने जनाइएको छ ।
मर्यादित महिनावारीमैत्री वडा घोषणाले महिनावारीलाई लाज र विभेदको विषय नभई स्वास्थ्य, सम्मान र अधिकारको विषयका रूपमा स्थापित गर्न स्थानीयस्तरमा सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ ।




