सर्लाही । वैदेशिक रोजगारीका लागि मौरिसस पठाइदिने भन्दै ठगी गरिएको १२ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालय सर्लाहीको पहलमा पीडितहरूले फिर्ता पाएका छन् ।
ईश्वरपुर नगरपालिका १ का राजेन्द्र महतोका छोरा राकेश महतो (नथुनी महतो) ले मौरिससमा रोजगारी लगाइदिने आश्वासन दिँदै विभिन्न व्यक्तिबाट रकम लिएको बताइएको छ ।
लामो समय बितिसक्दा पनि रोजगारीका लागि विदेश नपठाएको र रकमसमेत फिर्ता नगरेपछि पीडितहरूले आफू ठगीमा परेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।
राकेशले मलंगवा नगरपालिका १० का राजकुमार रौनियार र अजय ठाकुर, ईश्वरपुर नगरपालिका ६ का पहलाद सहनी तथा ब्रह्मपुरी गाउँपालिका ६ का सन्दीप यादवबाट मौरिसस पठाउने प्रलोभनमा कुल १२ लाख रुपैयाँ लिएको बताइएको छ ।
उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले दुवै पक्षलाई कार्यालयमा बोलाएर छलफल तथा समन्वय गरेको थियो । प्रशासनको रोहवरमा भएको छलफलपछि राकेशका बुबा राजेन्द्र महतोले पीडितहरूबाट लिइएको सम्पूर्ण १२ लाख रुपैयाँ फिर्ता गरेका हुन् ।
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम असुल्ने र लामो समयसम्म विदेश नपठाउने तथा रकम फिर्ता नगर्ने घटना बढिरहेका बेला प्रशासनको पहलमा पीडितले रकम फिर्ता पाउनु राहतको विषय बनेको छ ।
जिल्ला प्रशासन कार्यालयले वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित व्यक्ति वा संस्थाको आधिकारिकता जाँच गर्न तथा वैधानिक माध्यमबाट मात्रै वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।




