जनकपुरधाम । जेनजी आन्दोलनको एक वर्ष पूरा भइसक्दा पनि आन्दोलनका क्रममा मधेस प्रदेशमा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सरकारी संरचनाहरू अझै पूर्णरूपमा पुनर्निर्माण हुन सकेका छैनन् ।
आन्दोलनका क्रममा मधेस प्रदेश सरकार, स्थानीय तह, संघीय सरकार मातहतका सरकारी कार्यालय तथा प्रहरी संगठनका भवन, सवारीसाधन र अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो । तर एक वर्ष बितिसक्दा पनि तीमध्ये कतिपय संरचना सामान्य मर्मतसम्भारकै भरमा सञ्चालन भइरहेका छन् भने केही कार्यालय अझै अस्थायी भवनबाट चलाउनुपर्ने अवस्था छ ।
संकलित विवरणअनुसार मधेस प्रदेशमा सरकारी संरचना तथा सवारी साधनमा मात्रै करिब ४ अर्ब ५० करोड ६५ लाख रुपैयाँ बराबरको क्षति भएको थियो । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार आन्दोलनका क्रममा प्रदेशका २३४ वटा सरकारी कार्यालयमा क्षति पुगेको थियो ।
जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक मूल्यांकनअनुसार प्रदेश सरकार मातहतका सरकारी कार्यालयमा मात्रै करिब ५७ करोड ३५ लाख ५२ हजार रुपैयाँ बराबरको क्षति भएको थियो । प्रहरीका सवारी साधनमा मात्रै करिब २ करोड ६ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति पुगेको प्रदेश प्रहरीको तथ्यांक छ ।
एक वर्ष बितिसक्दा पनि क्षतिग्रस्त संरचना पूर्ववत् अवस्थामा फर्कन नसक्दा प्रदेश सरकारका कतिपय कार्यालय अझै अस्थायी वा कामचलाउ व्यवस्थामै सञ्चालन भइरहेका छन् ।
मुख्यमन्त्री कार्यालय अझै पूर्णरूपमा पुनर्निर्माण भएन
जेनजी आन्दोलनका क्रममा मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि ठूलो क्षति पुगेको थियो । आगजनी र तोडफोडबाट भवन तथा कार्यालयभित्रका सामाग्रीमा क्षति पुगेपछि आवश्यक पुनर्निर्माण र मर्मतसम्भार अझै पूरा हुन सकेको छैन ।
भवन सञ्चालनयोग्य नबनेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अहिले गृह, सञ्चार तथा कानून मन्त्रालयको भवनबाट सञ्चालन भइरहेको छ । प्रदेश सरकारको प्रशासनिक केन्द्रकै भवन एक वर्षसम्म पूर्णरूपमा व्यवस्थित हुन नसक्नुले आन्दोलनपछि सरकारी संरचना पुनर्स्थापनाको गति सुस्त रहेको देखाउँछ ।
आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त श्रम, रोजगार तथा यातायात मन्त्रालयको भवन पनि अझै पूर्णरूपमा मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन सकिएको छैन । भवन प्रयोग गर्न नसक्ने भएपछि मन्त्रालय भाडाको घरबाट सञ्चालन हुँदै आएको छ ।
सरकारी मन्त्रालय आफ्नै भवनबाट सञ्चालन हुन नसक्दा राज्यलाई अतिरिक्त आर्थिक भारसमेत थपिएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले बजेट अभावका कारण क्षतिग्रस्त संरचनाको पूर्ण पुनर्निर्माण गर्न नसकिएको बताउनुभयो ।
यद्यपि कार्यालयको काम प्रभावित नहोस् भनेर तत्कालका लागि सामान्य मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । क्षतिग्रस्त सवारी साधनको बीमा रकमबारे उहाँले भन्नुभयो, “केही गाडीको रकम आएको छ भने अधिकांश प्रक्रियामै रहेको छ ।”
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालले पनि क्षतिग्रस्त संरचनाको पूर्ण मर्मतसम्भार हुन नसकेको बताउनुभयो । “सरकारबाट आइरहेको बजेटअनुसार मर्मतसम्भार गरिँदैछ । जहाँसम्म गाडीको बीमा रकम पाउने कुरा छ, केहीको पाएका छौँ, अधिकांश प्रक्रियामै रहेको छ,” उहाँले भन्नुभयो ।
प्रदेशसभा सामान्य मर्मतपछि सञ्चालनमा
आन्दोलनका क्रममा मधेस प्रदेशसभा भवन तथा सचिवालयमा पनि ठूलो क्षति पुगेको थियो । प्रदेशसभाका विभिन्न कक्ष, कार्यालय, फर्निचर, कम्प्युटर, प्रिन्टर, एसीलगायत विद्युतीय तथा कार्यालय सामाग्रीमा क्षति पुगेको थियो । प्रदेशसभा र सचिवालयमा मात्रै करिब ४० करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक मूल्यांकन छ ।
प्रदेशसभा सचिवालयले उपलब्ध स्रोतबाट सामान्य मर्मतसम्भार गरी प्रदेशसभा सञ्चालनमा ल्याएको छ । तर बैठक कक्षका क्षतिग्रस्त कुर्सीहरू अझै पूर्णरूपमा प्रतिस्थापन गर्न सकिएको छैन । भवनलाई सामान्य मर्मत गरी तत्कालका लागि कामचलाउ बनाइएको छ ।
प्रदेश सरकारका भौतिक पूर्वाधार विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलगायतका कार्यालय तथा मन्त्री आवास पनि सामान्य मर्मतसम्भारपछि सञ्चालनमा ल्याइएका छन् । तर तिनको पूर्ण पुनर्निर्माण भने हुन सकेको छैन ।
स्थानीय तहका भवन पनि कामचलाउ
जेनजी आन्दोलनका क्रममा वीरगञ्ज महानगरपालिका र जनकपुरधाम उपमहानगरपालिकासहित प्रदेशका अधिकांश स्थानीय तहका भौतिक संरचनामा समेत क्षति पुगेको थियो । ती संरचनाको पूर्ण पुनर्निर्माण हुन नसक्दा सामान्य मर्मतसम्भार गरेर काम चलाइएको छ ।
वीरगञ्ज महानगरपालिकामा मात्रै १ अर्ब १५ करोड ३२ लाख रुपैयाँ बराबरको भौतिक संरचना तथा उपकरणमा आगजनी र तोडफोडबाट क्षति पुगेको थियो । जनकपुरधाम उपमहानगरपालिकामा पनि ५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको विवरण सार्वजनिक भएको थियो ।
बीमा रकम समेत प्रक्रियामै
आन्दोलनका क्रममा सरकारी कार्यालय तथा प्रहरीका ठूलो संख्यामा सवारी साधन जलेर नष्ट भएका थिए । कतिपय पूर्णरूपमा ध्वस्त भएका थिए भने केहीमा आंशिक क्षति पुगेको थियो । तर क्षतिग्रस्त सवारी साधनको बीमा रकम प्रदेश सरकार र प्रहरीले अझै पूर्णरूपमा प्राप्त गर्न सकेका छैनन् ।
सरकारी सवारी साधनमा बीमा भएपनि दाबी भुक्तानी प्रक्रिया लामो हुँदा नयाँ सवारी साधन खरिद तथा क्षतिग्रस्त सवारी साधन प्रतिस्थापनमा समस्या भएको सम्बन्धित निकायको भनाइ छ ।
संघीय कार्यालयमा पनि करोडौँको क्षति
जेनजी आन्दोलनका क्रममा मधेस प्रदेशका विभिन्न जिल्लामा रहेका संघीय सरकार मातहतका कार्यालयमा पनि ठूलो क्षति पुगेको थियो । सप्तरीमा सरकारी कार्यालयतर्फ मात्रै ७५ करोड रुपैयाँभन्दा बढी क्षतिको मूल्यांकन गरिएको थियो ।
रौतहटमा सरकारी कार्यालयमा मात्रै ३६ करोड रुपैयाँभन्दा बढी र सरकारी तथा निजी सम्पत्ति जोड्दा ४४ करोड रुपैयाँभन्दा बढी क्षति भएको विवरण सार्वजनिक भएको थियो । त्यस्तै, सर्लाहीमा सार्वजनिक सम्पत्तितर्फ ६३ करोड ५५ लाख रुपैयाँ बराबरको प्रारम्भिक क्षतिको विवरण आएको थियो ।
जनकपुर भन्सार कार्यालयमा मात्रै करिब १३ करोड ८७ लाख रुपैयाँ बराबरको क्षति भएको विवरण सार्वजनिक भएको थियो । सरकारी संरचनामा भएको क्षति मात्र होइन, आन्दोलनका क्रममा संघीय तथा प्रदेशका पूर्व तथा वर्तमान सांसद एवं मन्त्रीका घरसहित निजी सम्पत्ति र केही व्यावसायिक प्रतिष्ठानमा समेत ठूलो क्षति पुगेको थियो ।
पुनर्निर्माणको प्रतिबद्धता, बजेटमा योजना छैन
आन्दोलनबाट भएको क्षति ठूलो भए पनि एक वर्ष बितिसक्दा कतिपय महत्वपूर्ण सरकारी संरचना अझै पुनर्निर्माणको पर्खाइमा छन् । क्षतिग्रस्त सरकारी भवनहरू पूर्णरूपमा पुनर्निर्माण हुन नसक्नु र प्रहरी तथा प्रदेश सरकारका सवारीसाधनको बीमा दाबीसमेत टुंगोमा नपुग्नुले आन्दोलनका भौतिक घाउ अझै निको नभएको देखाउँछ ।
वर्तमान सरकारले निर्वाचनअघि क्षतिग्रस्त संरचनाहरू पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो । तर चालु बजेटमा संघीय र प्रदेश सरकारले ती संरचनाको पुनर्निर्माणका लागि पर्याप्त योजना समावेश नगरेको देखिन्छ ।
आन्दोलनपछि तत्कालीन क्षतिको मूल्यांकन गरिए पनि त्यसअनुसार पुनर्निर्माणको गति अघि बढ्न नसक्दा अहिले प्रश्न उठेको छ- सरकारी संरचनामै लागेको घाउ निको पार्न राज्यलाई अझै कति समय लाग्ने हो ?
एक वर्ष पूरा हुँदा आन्दोलनको राजनीतिक प्रभावबारे बहस भइरहेकै छ । तर मधेसका सरकारी कार्यालय र संरचनामा देखिने भौतिक क्षतिले भने त्यस घटनाको असर अझै बाँकी रहेको स्पष्ट देखाइरहेको छ ।




