पर्सा । पर्सामा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजासहित ७० वर्षीय वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका ४ भथौरा निवासी दुखि महतो रहेका छन् ।
उनको घरबाट प्रहरीले प्लास्टिकसहित १८ किलो ४०० ग्राम र प्लास्टिक हटाउँदा १७ किलो ७०० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार महतोले घरमै गाँजा लुकाएर राखेको विशेष सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी टोली परिचालन गरिएको थियो ।
प्रहरी टोलीले बिहीबार महतोको घरमा खान तलासी गर्दा लुकाइराखेको अवस्थामा गाँजा फेला पारेको हो । बरामद गाँजासहित महतोलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।




