रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका ६ पेटभर्वामा कृष्ण जन्माष्टमीको छठियारका अवसरमा आयोजित मूर्ति विसर्जनपछि बजाइएको डिजेको गीतले दुई समूहबीचको पुरानो तनावलाई फेरि सतहमा ल्याएको छ ।
गीत बजाउने विषयमा सुरु भएको सामान्य विवाद केहीबेरमै झडपमा परिणत हुँदा दुवै पक्षका केही व्यक्ति घाइते भएका छन् । स्थानीयका अनुसार बुधबार साँझ करिब ७ बजे कृष्णको मूर्ति विसर्जन सम्पन्न भएपछि डिजेमा गीत बजाउने विषयमा दुई पक्षबीच भनाभन सुरु भएको थियो ।
विवाद बढ्दै गएपछि दुवै पक्षबीच हात हालाहाल भएको थियो । झडपमा डिजे सञ्चालक दिलीप साहको टाउकोमा चोट लागेको छ । उनका भाइ मोहन साहको आँखा र मुखमा चोट लागेको बताइएको छ ।
रामअधार साहको हातमा गम्भीर चोट लागेको छ भने महादेव ठाकुरसहित अन्य केही व्यक्ति पनि घाइते भएका छन् । उनीहरूको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको जनाइएको छ ।
यता, अर्को पक्षका विजय यादवको नाकको हड्डी र कानमा चोट लागेको बताइएको छ । मजय यादव पनि घाइते भएका छन् । उनीहरूको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक रादेश खत्रीका अनुसार मठमा डिजेमा गीत बजाउने विषयमा दुई पक्षबीच विवाद भएपछि झडप भएको हो ।
गीतको विषयमा फरक-फरक दाबी
घटनाको तत्कालीन कारणबारे स्थानीय र जनप्रतिनिधिको भनाइ भने एकरूप छैन । फतुवा विजयपुर नगरपालिका ६ का वडाध्यक्ष रामएकबाल यादवका अनुसार पूजास्थलमा कृष्ण भगवानसँग सम्बन्धित गीत बजाउन एक पक्षले आग्रह गरेको थियो । उक्त गीत नबजाएपछि विवाद उत्पन्न भएको उनको भनाइ छ ।
यद्यपि, जातिलक्षित गीत बजाएको विषयलाई लिएर विवाद भएको भन्नेबारे आफूलाई कुनै जानकारी नभएको वडाध्यक्ष यादवले स्पष्ट पारेका छन् । गीत बजाउने विषय सामान्य देखिए पनि पेटभर्वामा पछिल्लो समय कायम रहेको सामाजिक तनावको पृष्ठभूमिमा भएको यो घटनाले स्थानीय चिन्ता बढाएको छ ।
पुरानो विवादको छायामा नयाँ झडप
पेटभर्वामा भएको पछिल्लो झडपलाई स्थानीयले केही महिनादेखि चल्दै आएको गाउँको नाम परिवर्तनसम्बन्धी विवादसँग पनि जोडेर हेरेका छन् । स्थानीयका अनुसार पेटभर्वा गाउँको ऐतिहासिक नाम परिवर्तन गरी ‘यदुवंशीनगर’ राख्ने प्रयास भएपछि दुई पक्षबीच विवाद हुँदै आएको छ ।
नाम परिवर्तन जातीय आधारमा गर्न खोजिएको आरोप लगाउँदै केही स्थानीयले त्यसको विरोध गर्दै आएका छन् । नाम परिवर्तनको विषय जिल्ला प्रशासन कार्यालय हुँदै सर्वोच्च अदालतसम्म पुगेको र अहिले उक्त विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको स्थानीयको भनाइ छ ।
यही विवादको पृष्ठभूमिमा यसअघि रक्षा बन्धनका अवसरमा हरेक वर्ष लाग्दै आएको पेटभर्वा मेलासमेत स्थगित गरिएको थियो । त्यसैले कृष्ण जन्माष्टमीपछि डिजेमा गीत बजाउने विषयमा भएको पछिल्लो झडपलाई स्थानीयले केवल तत्कालीन विवादका रूपमा मात्र हेरेका छैनन् ।
लामो समयदेखि कायम नाम परिवर्तनसम्बन्धी विवाद, त्यससँग जोडिएको सामाजिक संवेदनशीलता र पछिल्लो झडपले गाउँको वातावरण थप संवेदनशील बन्न सक्ने उनीहरूको चिन्ता छ ।
प्रहरीले बढायो निगरानी
घटनापछि प्रहरीले दुवै पक्षबीच थप विवाद हुन नदिन निगरानी बढाएको जनाएको छ । इलाका प्रहरी कार्यालय विजयपुरका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
स्थानीय प्रशासन र प्रहरीको चुनौती अहिले झडपमा संलग्न व्यक्तिमाथि अनुसन्धान गर्नु मात्र नभई पुरानो विवादका कारण बढ्न सक्ने थप तनावलाई नियन्त्रणमा राख्नु पनि बनेको छ ।
सामान्य विषयमा हुने विवादले समेत ठूलो रूप लिन सक्ने अवस्था देखिएपछि पेटभर्वाको पछिल्लो घटनालाई स्थानीय तहमा सामाजिक सद्भाव कायम राख्ने विषयसँग जोडेर समेत हेरिएको छ ।




